भ्यालेन्सियासँग लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक खेलाडीसँग यसरी रिसाए

एजेन्सी, माघ १२
शनिबार राति भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अवे मैदानमा भ्यालेन्सियासँग २–० ले हारेपछि टोलीका प्रशिक्षक क्विके सेटिन आफ्ना खेलाडीको प्रदर्शनलाई लिएर निकै रिसाएका छन् । खेलपछि मिडियासँग कुरा गर्दै उनले आफ्ना खेलाडीले थुप्रै गल्ती गर्दा खेल हारेको भन्दै आक्रोश पोखे ।

‘पहिलो हाफमा हामीले खराब खेल खेल्यौं, कति खराब म भन्न सक्दिनँ । भ्यालेन्सियाले पहिलो हाफमा २ वा ३ गोल गर्न सक्थे । तर, टर स्टेगेनले केही कठिन बचाउ गरेर टिमलाई खेलमा राखिराखे । मैले यस्तो प्रदर्शनको कल्पनै गरेको थिइनँ,’ सेटिनले भने ।

बार्सिलोना घरेलु टोलीसामु मानसिक रूपमा दबिएर खेलेको भन्दै सेटिन रिसाए । ‘अवे खेल हामीलाई किन कठिन हुन्छ, थाहा छैन । खेलाडी किन दबाब मसुस गर्छन्, थाहा छैन । यदि हामीले यस्तै खेल्दै गयौं भने केही जित्न सकिँदैन,’ सेटिनले चर्को असन्तुष्टि पोखे ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १५:५६
Loading...