आफ्नो घरमा बार्सिलोनासँग ‘बदला लिने’ भ्यालेन्सियाको दाउ !

काठमाडौं, माघ ११
स्पेनिस घरेलु लिग ला लिगा फुटबलमा आज राति भ्यालेन्सिया र बार्सिलोनाको रोमाञ्चक खेल हुँदैछ । हाल अंक तालिकामा सातौं स्थानमा रहेको भ्यालेन्सियाले लिग लिडर बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा आमन्त्रण गर्दैछ ।

आज आफ्नो घरेलु मैदानमा खेल्दा भ्यालेन्सिया बार्सिलोनालाई स्पष्ट गोलअन्तरमा हराएर अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने साथै यसअघि पहिलो लेगमा भोगेको हारको बदलासमेत लिने दाउमा छ । बार्सिलोनाले भ्यालेन्सियालाई पहिलो लेग क्याम्प नोउमा खेल्दा ५–२ ले हराएको थियो ।

आज भ्यालेन्सियाको मैदानमा हुने खेल खेल्न बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी, जेरार्ड पिकेसहितका खेलाडी टोलीमा फर्किएका छन् । यसअघि कोपा डेल रे कपको खेलमा उनीहरूलाई आराम दिइएको थियो ।

हाल अंक तालिकामा बार्सिलोना २० खेलपछि ४३ अंक जोडेर पहिलो नम्बरमा छ । भ्यालेन्सिया ३१ अंक जोडेर सातौंमा छ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०८:४८
Loading...