बार्सिलोनाले के जित्छ, मलाई थाहा छैन : जिदान

एजेन्सी, माघ ९
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो सिजन रियल मड्रिडको सिजन हुने कुरा पुनः दोहोराएका छन् । गत राति कोपा डेल रे फुटबलको अन्तिम ३२ मा जित निकाल्दै अन्तिम १६ मा पुगेपछि जिदानले मिडियासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

जिदानले रियल अहिले सही लयमा रहेको बताउँदै आफूहरू सबै उपाधिको दाबेदार रहने बताए । ‘हामी कपको अन्तिम १६ मा पुग्यौं, यो जित जारी सिजनलाई अघि बढाउने एक कदम हो,’ जिदानले भने, ‘हामी कप जित्छौं । र, ला लिगा पनि जित्छौं ।’

जिदानले च्याम्पियन्स लिग रियल मड्रिडका लागि पहिलो लक्ष्य हुने बताए । ‘हामी कप र ला लिगा जित्छौं भनिरहँदा च्याम्पियन्स लिग जित्न सक्दैनौं भन्ने होइन । यो त झन् हाम्रो प्रमुख लक्ष्य हो,’ उनले थपे ।

पत्रकारले बार्सिलोना नयाँ प्रशिक्षकका साथ यो सिजन सबै उपाधि जित्ने दौडमा रहेको विषयमा सोध्दा जिदानले चलाखीपूर्वक जवाफ दिए । उनले घुमाउरो पारामा बार्सिलोनाले केही जित्न नसक्ने आशयको भनाइ राखे । ‘उनीहरूले के जित्छन् वा कुन–कुन प्रतियोगिता जित्न सक्छन्, यो मलाई थाहा छैन । उनीहरूलाई नै सोध्नुहोस्,’ जिदानले भने, ‘मलाई सोध्नुहुन्छ भने हामी सबै प्रतियोगिता जित्न चाहन्छौं । जित्छौं । अझै लामो बाटो बाँकी छ । हेरौं ।’

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १५:००
Loading...