साम्बा र अनिता भारतीय लिग खेल्न लागे : यसपटक क्लब अलग–अलग

काठमाडौं, माघ ७
नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २ जना खेलाडी फरवार्ड सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिग खेल्न भारत प्रस्थान गरेका छन् । मंगलबार उनीहरू भारत लागेका हुन् । यी दुवै खेलाडीको भारतीय लिग यात्रा दोस्रोपटक हो ।

गएको वर्ष पनि अनिता र सावित्रा दुवैले भारतीय लिग खेलेका थिए । पोहोर दुवैले सेथु क्लबबाट खेले पनि यसपटक फरक–फरक क्लबमा आबद्ध भएका छन् । जसमा अनिताले गत सिजनकै क्लब सेथुबाट खेल्नेछिन् भने सावित्राले गोकुलम केराला क्लबबाट खेल्नेछिन् ।

भारतीय महिला लिग शुक्रबारदेखि सुरु हुने तालिका छ । प्रतियोगितामा जम्मा १२ टिम छन् । १२ टिमलाई ६–६ टिम गरी दुई समूहमा विभाजन गरिएको छ । जसमा सावित्राको टिम गोकुलम समूह ‘बी’मा रहँदा अनिताको टिम सेथु समूह ‘ए’मा परेको छ ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १६:०२
Loading...