पहिलो खेल जितेपछि नयाँ प्रशिक्षकले यसरी गरे मेस्सीको तारिफ

एजेन्सी, माघ ७
स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनले आफ्ना कप्तान तथा सुपरस्टार लिओनल मेस्सीको तारिफ गरेका छन् । दुई दिनअघि आफ्नो डेब्यु खेलमा खेलको अन्तिम समयमा १ मात्रै विजयी गोल गरेर टिमलाई जित दिलाएपछि उनले मेस्सीलाई ‘टिमलाई पिँठ्युमा बोकेर हिँड्ने’ खेलाडी भनेर प्रशंसा गरेका छन् ।

पाहुना टोली ग्रानाडाविरुद्ध घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मेस्सीले खेलको ७६औं मिनेटमा गोल गरेका थिए । तुलनात्मक रूपमा कमजोर टिमविरुद्ध जित निकाल्न पनि बार्सिलोनालाई ठूलै संघर्ष गर्नु परेको थियो ।

खेलपछि ‘मार्सा’ पत्रिकासँग कुरा गर्दै सेटिनले मेस्सी आफैंमा सुपरस्टार मात्रै नभएर उनी एक्लै टिमको आधा हिस्सा बराबर रहेको बताए । ‘मेस्सी टिमका लागि आधा हिस्सा बराबर हुन्, निर्णायक खेलाडी हुन्, जसले अन्तिम १० सेकेन्डसम्म पनि खेल परिवर्तन गर्न सक्छन्,’ सेटिनले भने, ‘ग्रानाडाविरुद्धको खेल सहज थिएन । तर, उनले सहज बनाइदिए । किनभने, हामीले खेलसँगै ३ अंक जित्यौं ।’

सेटिनले मेस्सीलाई आफ्नो टिमलाई पिँठ्युमा बोकेर हिँड्ने खेलाडीको उपमा बताए । ‘यो मैले भन्नुपर्दैन, तथ्यांकले नै भन्छ कि, मेस्सी बार्सिलोनालाई पिँठ्युमा बोकेर हिँड्ने खेलाडी हुन् । हामीसँग उनीजस्ता खेलाडी छन्, यो सधैं फाइदाको कुरा हुन्छ ।’

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०२:५५
Loading...