क्याम्प नोउमा १० खेलाडीमा सीमित ग्रानाडामाथि बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौं, माघ ६
कप्तान लिओनल मेस्सीले गरेको १ मात्रै गोलको मदतमा स्पेनिस बार्सिलोनाले घरेलु लिग ला लिगा फुटबलमा ग्रानाडाविरुद्ध १–० को कठिन जित निकालेको छ । नयाँ प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा गत राति क्याम्प नोउमा बार्सिलोनालाई १० खेलाडीमा सीमित पाहुना टोलीविरुद्ध साँघुरो जित निकाल्न पनि ठूलै संघर्ष गर्नु परेको थियो ।

आफ्नो घरमा चर्को दबाब लिएर मैदान उत्रेको बार्सिलोनाले ८० प्रशितभन्दाबढी बल आफ्नो पक्षमा राखे पनि उसलाई गोल गर्न ७६औं मिनेटसम्म लड्नु परेको थियो । सोक्रममा बार्सिलोनाले आफ्नै घरमा पनि निकै कम मात्रै अवसर बनायो । बार्सिलोनाले बनाएका थोरै अवसर पनि सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा खेलाडीहरू निकै थकित र विचलित देखिन्थे ।

आफ्नो घरमा गोलको खोजीमा रहेको बार्सिलोनालाई त्यत्तिबेला सजिलो भयो, जब खेलको ६९औं मिनेटमा ग्रानाडाका डिफेन्डर जर्मन सान्चेजल रातो कार्ड खाँदै मैदान छाडेपछि ग्रानाडा १० खेलाडीमा खस्यो । त्यसपछि बार्सिलोनाले थप दबाब बढायो ।

सोहीक्रममा खेलको ७६औं मिनेटमा कप्तान मेस्सीले निकै सुन्दर गोल गरे । मेस्सी र अर्टुरो भिडालको उत्कृष्ट तालमेलमा मेस्सीले ग्रानाडाका डिफेन्डरका बीचबाट गोल गरेका थिए । अन्ततः सोही गोल नै बार्सिलोनालाई ३ अंकक जित्न महत्त्वपूर्ण भयो ।

अब यो जितसँगै बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा फर्किएको छ । उसले २० खेलबाट ४३ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको खातामा पनि समान ४३ अंक नै छ । तर, २ गोलको अन्तरमा बार्सिलोना सिरानमा छ । यता, पराजित ग्रानाडा २७ अंकसहित दशौं स्थानमा छ ।

ग्रानाडाविरुद्धको गोलसँगै मेस्सीले जारी सिजन घरेलु लिगमा गरेको गोल संख्या १४ पुगेको छ । उनी ला लिगाको सर्वाधिक गोलकर्ता हुन् । उनले ६ गोलमा असिस्टसमेत गरेका छन् ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०३:१४
Loading...