ग्वार्डिओलाले मेस्सीलाई पठाए यस्तो सन्देश

एजेन्सी, माघ ४
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीसँग खास सम्बन्ध छ । विगतमा लामो समय बार्सिलोनालाई प्रशिक्षण गर्दा मेस्सी र ग्वार्डिओला मिलेर विश्व फुटबलमा अपत्यारियला सफलता प्राप्त गरे । ग्वार्डिओला अहिले पनि अर्जेन्टिनी फरवार्डका एक ठूला फ्यान हुन् । उनी आफूलाई मेस्सीको सबैभन्दा ठूला फ्यान मान्छन् ।

उनै ग्वार्डिओलाले आफ्ना पूर्वखेलाडी मेस्सीलाई एक सुझाव दिएका छन् । शनिबार घरेलु लिगमा क्रिस्टल प्यालेससँगको खेलअघि मिडियासँग कुरा गर्दै उनले मेस्सलीले अब करिअरको बाँकी समय एकदमै सामान्य ढंगले बिनादबाब खेल्नुपर्ने बताएका छन् । उनले मेस्सीले करिअरमा अब पाउन बाँकी र जित्न बाँकी केही पनि नरहेको भन्दै बाँकी समय रमाइलो गरेर खेल्नुपर्ने बताए ।

‘मलाई लाग्दैन, मेस्सीले अझै केही जित्न वा आफूलाई प्रमाणित गर्न बाँकी छ । उनले जति गरेका छन्, त्यो व्यापक छ,’ ग्वार्डिओलाले भने, ‘म उनलाई अब करिअरको बाँकी समय शान्त रहेर खेल्न र रामाइलोसाथ बिताउन सुझाव दिन्छु ।’

ग्वार्डिओलाले मेस्सी च्याम्पियन खेलाडी भएकाले उनका समर्थकहरूले अझै उनीबाट जित र उपाधिको अपेक्षा गर्नु स्वभाविक रहेको बताए । ‘जो कोही फ्यान मेस्सीजस्ता खेलाडीबाट करिअरको अन्तिम खेलसम्म पनि जित र उपाधि चाहन्छन्, यो सुन्दर कुरा हो । तर, एक प्रशिक्षकका नाताले मलाई लाग्छ, मेस्सीले अब केही नजिते पनि फरक पर्दैन । उनी सबैभन्दा माथि छन् ।’

ग्वार्डिओलाले च्यापियन्स लिगमा आफूहरू सहज अवस्थामा नरहेको पनि बताए । ‘सबैलाई थाहा छ, सिटीका लागि रियल मड्रिड कठिन टिम हो । तर, हामी अन्तिम आठमा जानेमा आशावादी छौं । किनभने, मलाई मेरा खेलाडीको गुण र क्षमता थाहा छ,’ ग्वार्डिओलाले भने ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १२:४७
Loading...