‘बार्सिलोनाले यही सिजन ट्रिबेल उपाधि जितेर देखाउँछ’

एजेन्सी, माघ ४
स्पेनिस बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले आफूहरूले जारी सिजन नै ट्रिबेल उपाधि जित्न सक्ने बताएका छन् । नयाँ प्रशिक्षकमा क्विके सेटिन अनुबन्ध भएसँगै उनले यस्तो दाबी गरेका हुन् । स्पेनिस मिडियासँग कुरा गर्दै उनले बार्सिलोना अब नयाँ ढंगले अघि बढ्नेमा आफू ढुक्क रहेको बताए ।

यसै साता बार्सिलोनाले अघिल्ला प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेर क्विकेलाई नियुक्त गरेको छ । उनको नेतृत्वमा बार्सिलोनाले आइतबार राति आफ्नो घरमा ला लिगामा ग्रानाडासँग पहिलो खेल खेल्दैछ ।

‘रेडियो क्याटलान’सँग कुरा गर्दै बार्टोमेउले नयाँ प्रशिक्षकको नियुक्तितले क्लबमा धेरै कुरा फेरिने विश्वास व्यक्त गरे । ‘भाल्भर्डेको भूमिका, समय र योगदानलाई क्लबले सधैं सम्झिनेछ । उनले यहाँ रहुन्जेल सकेको राम्रो गरे । तर, उनको बिदाइ समयको माग थियो,’ बार्टोमेउले भने, ‘नयाँ तरिकाले अघि बढ्न हामीलाई नयाँ प्रशिक्षक आवश्यक थियो ।’

बार्टोमेउले अघि थपे, ‘सेटिनबाट क्लब र समर्थकले थुप्रै कुराको आशा राखेका छन् । मलाई लाग्छ, उनको नियुक्तिसँगै बार्सिलोना अब प्रमुख तीनवटै उपाधिको दाबेदार बनेको छ ।’ बार्टोमेउले क्लबले यसै सिजन ट्रिबेल जित्न सक्ने बताए । ‘बार्सिलोनाका लागि असम्भव केही छनै । हामी यसैपालि तीन उपाधि जित्न सक्छौं, हेर्दै जाऊँ,’ उनले थपे ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०५:२७
Loading...