‘बार्सिलोनाले ला लिगा जिते ठूलो कुरा’

एजेन्सी, माघ २
तीन दिनअघि स्पेनिस बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई पदबाट हटायो । साउदी अरेबियामा सुपर कपको सेमिफाइनलमा हारेपछि क्लबले भाल्भर्डेलाई बर्खास्त गर्दै क्विके सेटिनलाई नयाँ प्रशिक्षक बनायो ।

यसैबीच, बार्सिलोनाका लिजेन्ड ब्राजिलियन खेलाडी रिभाल्डोले भाल्भर्डेलाई क्लबले अपमानजनक ढंगले लखेटेको भन्दै आलोचना गरेका छन् । क्लबले आवश्यक परेका बेला प्रशिक्षक हटाउन सक्ने भए पनि भाल्भर्डेको बिदाइ सम्मानजनक तरिकाले हुनुपर्ने रिभाल्डो बताउँछन् ।

‘यो प्रष्ट देख्निछ कि, बार्सिलोना प्रशिक्षक बदल्ने कुरामा स्पष्ट थिएन । मलाई लाग्छ, उनीहरू थोरै अन्योलमा थिए । र, भाल्भर्डेप्रति उनीहरूले अनादर व्यवहार देखाए,’ रिभाल्डोले भनेका छन्, ‘भाल्भर्डे यो स्तरको बिदाइको लायक थिएनन् । किनभने, टिम सम्मानजनक अवस्थामा रहँदा रहँदै उनी बर्खास्तमा पर्नुले राम्रो सन्देश जाँदैन ।’

रिभाल्डोले भाल्भर्डेलाई सुपर कप हारेपछि केही खेलमा मौका दिएको भए राम्रो हुने पनि बताए । ‘सुपर कप हारेपछि उनलाई केही खेलसम्म पर्खिनुपर्ने थियो । अब नयाँ प्रशिक्षसँग काम गर्न सजिलो हुँदैन । ६ महिना त्यसै जान्छ,’ रिभाल्डोले भने, ‘यो सबैतिर देखिएको छ । नयाँ प्रशिक्षकको सुरुआत अक्सर सामान्य नै हुन्छ ।’

नयाँ प्रशिक्षक आउँदैमा बार्सिलोनाले चमत्कार गर्न नसक्ने पनि रिभाल्डोले बताए । ‘सेटिनप्रति मेरो सम्मान छ । तर, मलाई लाग्दैन कि– उनले चमत्कार गर्नेवाला छन् । बार्सिलोनामा प्रशिक्षक मात्रै समस्या होइन, अरू पनि समस्या छन्,’ रिभाल्डोले भने ।

रिभाल्डोले बार्सिलोनाले यो सिजन ला लिगा जिते ठूलो उपलब्धि हुने बताए । ‘नढाँटी भन्दा उनीहरू अहिले ठूला उपाधि जित्ने अवस्थामा छैनन् । च्याम्पियन्स जित्न मैले धेरै कठिन देखेको छु । ला लिगा जोगाउन सक्दा पनि उनीहरूका लागि सिजन राम्रो हुने अवस्था छ,’ रिभाल्डोले भने, ‘तर, रियल मड्रिड पछिल्लो समय जसरी आएको छ, ला लिगामा पनि उनीहरूले ठूलो चुनौती दिने पक्का छ ।’

प्रकाशित मिति २ माघ २०७६, बिहीबार १३:४२
Loading...