‘युइएफए टिम अफ् द इयर’मा कान्टेलाई फालेर रोनाल्डोको नाम किन राखियो ?

एजेन्सी, माघ २
अघिल्लो दिन साँझ युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले फ्यान भोटिङबाट ‘युइएफए टिम अफ् द इयर–२०१९’ घोषणा गरेको थियो । सो टोलीमा सर्वाधिक धेरै गत सिजनको च्याम्पियन लिभरपुलका ५ जना खेलाडी पर्दा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो परे । यसपटक भोटिङमा विश्वभरिबाट करिब २ मिलियनभन्दा बढी फुटबल फ्यानले भाट गरेको युइएफएले बताएको छ ।

तर, अन्तर्राष्ट्रिय खेल मिडियाले यसपटक फ्यान भोटिङ टिममा युभेन्टसका रोनाल्डोलाई भने कम मतका बाबजुत पनि टिममा राखिएको खुलासा भएको छ । फ्यानहरूको भोटिङमा फरवार्डको सूचीमा रोनाल्डो चोथौ स्थानमा मात्रै थिए । जबकि, युइएफएले टोलीमा ३ जना फरवार्ड मात्रै छान्नुपर्ने थियो । अर्थात्, फरवार्डमध्ये सबैभन्दा धेरै मत पाउने टप–३ उत्कृष्ट टिममा पर्थे ।

तर, रोनाल्डो भोटिङमा उत्कृष्ट ३ फरवार्डमा नपरेपछि युइएफएका अध्यक्ष आफैंले कम भोटका बाबजुत पनि रोनाल्डोको नाम मिसाएर भोटिङ फर्मेसनभन्दा फरक फर्मेसनमा टोली घोषणा गरेका हुन् । अर्थात्, फ्यानहरूलाई टिम छान्न १–४–३–३– को फर्मेसन दिइए पनि रोनाल्डो ३ जना फरवार्डमा नपरेपछि युइएफएले सो फर्मेसन नै बिगारेर १–४–२–४ को फर्मेसनमा टोली घोषणा गरेको हो, त्यसो गर्दा रोनाल्डो पनि पर्ने भए ।

तर, यसरी फर्मेसन बदल्दा एकजना मिडफिल्डरको नाम काटियो । त्यो नाम इंग्लिस क्लब चेल्सीका प्लेमेकर एन्गोलो कान्टेको हो । रोनाल्डोलाई वर्षको टिममा राख्नकै लागि निर्धारित फर्मेसनभन्दा फरक फर्मेसनमा एकजना मिडफिल्डर घटाएर ३ जना फरवार्डको ठाउँमा ४ जना फरवार्ड राखेर टोली घोषण गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

फ्यानको भोटिङअनुसार टप–३ फरवार्डमा माने, मेस्सी र लेवान्डोस्की मात्रै हुन् । र, मिडफिल्डरमा कान्टेसहित बार्सिलोनाका फ्रेन्की डे जोङ र म्यानचेस्टर सिटीका केभिन डे ब्रुयाने हुन् । तर, युइएफएले कान्टेको नाम काटेर आफैंले दिएको फर्मेसन नै बदलेर रोनाल्डोको नाम हालेपछि चेल्सीका समर्थकहरूले चर्को आलोचना गरिरहेका छन् ।

फरवार्डमा बार्सिलोनाका लिओनल मेस्सी, जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की, इंग्लिस क्लब लिभरपुलका साडियो मानेसहित रोनाल्डो छन् । यसपटक उत्कृष्ट टिम घोषणा गर्दा १–४–२–४ को फर्मेसन प्रयोग गरिएको छ, जुन पछिल्ला ६ वर्षयता प्रयोग भएको थिएन । पछिल्ला ६ मध्ये ५ वर्ष १–४–३–३ फर्मेसन प्रयोग गरिएको थियो । तर, सन् २०१७ मा भने १–४–४–२ को फर्मेसन प्रयोग गरिएको थियो ।

घोषित ‘युइएफए टिम अफ् द इयर’ यस्तो छ :

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०९:५८
Loading...