बार्सिलोनाद्वारा भाल्भर्डे बर्खास्त : सेटिन बने नयाँ प्रशिक्षक

एजेन्सी, पुस २९
जारी सिजनको सुपर कप हारेपछि स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रमुख प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेको छ । सोमबार बार्सिलोनाले बोर्डको बैठकबाट भाल्भर्डेलाई पदमुक्त गर्ने निर्णय गरेको हो । बार्सिलोना बिहीबार एथ्लेटिको मड्रिडसँग सुपर कपको सेमिफाइनलमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट आउट भएको थियो ।

जारी सिजन मध्यभागमा पुग्दा बार्सिलोना ला लिगाको लिग लिडर तथा च्याम्पियन्स लिगको अन्तिम १६ मा समूह विजेता बनेर पुगे पनि भाल्भर्डेको जागिर भने जोगिएन । साउदीमा एथ्लेटिकोसँग सुपर कपको फाइनल हार्नु उनको बार्सिलोना करिअरका लागि बिदाइको कारण बन्यो ।

गत वर्ष बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग पराजित हुँदै आउट भएदेखि नै भाल्भर्डे दबाबमा परेका थिए । आफ्नो घरमा पहिलो लेग ३–० ले जिते पनि बार्सिलोना लिभरपुलको घरमा ४–० ले हारेपछि उपाधि होडबाट आउट भयो । लगत्तै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियासँग हारेपछि भाल्भर्डे भन् दबाबमा परेको थियो ।

भाल्भर्डे सन् २०१७ मा बार्सिलोनामा एथ्लेटिको बिल्बाओबाट अनुबन्ध भएका थिए । बार्सिलोनाको अरिअरमा भाल्भर्डेले पहिलो र दोस्रो सिजनमा ला लिगा, २०१७–१८ मा कोपा डेल रे र २०१८ मा सुप कप गरी जम्मा चार उपाधि जिताए । क्याटलान टोलीका लागि उनको जित प्रतिशत ६६.९० प्रतिशत रह्यो ।

यता, भाल्भर्डेलाई बर्खास्त गर्नासाथ बार्सिलोनाले ‘प्राविधिक कोच’का रूपमा परिचित ला लिगाका क्लब रियल बेटिसका पूर्वप्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ०२:५४
Loading...