लयमा फर्किए रोनाल्डो : गोल संख्यामा सबैभन्दा अगाडि !

काठमाडौं, पुस २८
जारी सिजनको सुरुआतमा केही खेलमा गोलको खडेरीबाट गुज्रिएका इटालियन युभेन्टसका त्रिस्टियानो रोनाल्डो अहिले उत्कृष्ट फर्ममा फर्किएका छन् । गत सिजन युभेन्टसमा पहिलो सिजनभरमा उनले जम्मा २१ गोल मात्रै गरेका थिए । तर, यो सिजन गोल संख्यामा उनले उल्लेख्य सुधार गर्ने प्रष्टै देखिएको छ ।

गत राति घरेलु लिगमा अवे मैदानमा युभेन्टसले रोमालाई उसकै घरमा १–२ ले हरायो । जहाँ रोनाल्डोले खेलको दशौं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । सो गोलसँगै रोनाल्डोले यो सिजन लिगमा कूल १४ गोल पूरा गरेका छन् । उनले १६ खेलबाट १४ गोल गर्दै २ गोलमा असिस्ट गरेका हुन् । रोनाल्डोले लिगमा समग्रमा एक खेलमा गोल वा असिस्ट गरेका छन् ।

यता, गत वर्ष २०१९ को डिसेम्बर महिनायता युरोपका टप–५ लिगमा रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । डिसेम्बदेखि यहाँसम्म आउँदा उनले घरेलु लिगमा ९ गोल गरिसकेका छन्, जुन टप–५ लिगका अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

पछिल्लो समय रोनाल्डो जुन लयमा फर्किएका छन् अनि उनले जसरी गोल गरिररेका छन्, त्यसबाट उनी युरोपियन गोल्डेन बुटमा स्पष्ट रूपमा अघि बढेको देखिन्छ । हाल गोल्डेन बुट दौडमा इटालीकै क्लब लाजियोका सिरो इम्मोबाइल २० गोलसहित शीर्ष स्थानमा छन् । रोनाल्डो लिगमा उनीपछि दोस्रो स्थानमा छ । तर, रोनाल्डोले हालकै लय कायम राख्न सके उनले यो सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सक्ने संकेत स्पष्ट रूपमा देखिएको छ ।

रोनाल्डोले यसै साता आफ्नो घरमा भएको क्याग्लिअरीविरुद्धको खेलमा ह्याट्रिक गर्दै १ गोलमा असिस्ट पनि गरेका थिए । जारी सिजन उनले क्लबका लागि सबैखाले प्रतियोगितामा गरी कूल १६ गोल गरेका छन् । उनले २३ खेलबाट १६ गोल गरेका हुन् । युभेन्टसले अब आगामी खेल बुधबार राति कोपा इटालियामा उडिनेससँग अन्तिम १६ मा खेल्दैछ । सो खेलमा पनि रोनाल्डो टोलीमा उपलब्ध हुनेछन् । गत सिजन युभेन्टसले यो प्रतिगिता हारेको थियो ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार ११:४५
Loading...