के साँच्चै बार्सिलोनाले भाल्भर्डेलाई हटाएर जाभीलाई नयाँ प्रशिक्षक बनाउँदैछ ?

एजेन्सी, पुस २७
स्पेनका ताजा मिडिया रिपोर्टअनुसार बार्सिलोनाले पूर्वखेलाडी तथा पूर्वकप्तान जाभीलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । ‘बिइन स्पोर्ट्स’का सिनियर रिपोर्टर खालेद वालिडका अनुसार जाभी र बार्सिलोनाका खेल निदेर्शक इरिक अबिडालबीच कतारमा ‘डिल फाइनल’ भएको छ । र, सोमबारै जाभी क्याटलान क्लबको नयाँ प्रशिक्षकमा घोषणा हुने प्रबल सम्भावना छ ।

बार्सिलोनाका निर्देशकले कतार नै पुगेरका हाल जाभीले प्रशिक्षण गरिरहेको क्लब अल सदाका अधिकारीसँग बैठक गरी जाभीलाई स्पेन फर्काउने विषयमा छलफल गरेका थिए । थुप्रै मिडियाले बार्सिलोना र अल सदाबीच बनेको भद्र समझदारी अनुसारै जाभी पूर्वक्लबको प्रमुख प्रशिक्षक बनेर स्पेन फर्किन करिब पक्का भएको खबर छापेका छन् ।

यता, स्पेनका सबैजसो मिडियाले बार्सिलोनाले सोमबार हालका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै जाभीलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको रिपोर्ट छापेका छन् । सोमबार बार्सिलोनाको बोर्ड बैठक बस्दैछ ।

अघिल्लो दिन आफू बार्सिलोनाको कोच बन्ने चर्च एकाएक बढेपछि जाभीले पनि एक अन्तर्वार्तामा कुरा गर्दै बार्सिलोनाको प्रशिक्षक आफ्नो सपना भए पनि तत्काल आफूले आफ्नै क्लबमा ध्यान लगाउने बताएका थिए । उनले भनेका थिए, ‘बार्सिलोना मेरो सपनाको क्लब हो । तर, म अहिले अल सदामै केन्द्रित छु । म बार्सिलोना र भाल्भर्डेलाई सम्मान गर्छु । बार्सिलोनामा अहिले के भइरहेको छ मैले बुझ्न सकेको छैन ।’

दुई दिनअघि स्पेनिस सुपर कपको सेमिफाइनल बार्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित भएपछि भाल्भर्डेको पद धरापमा धकेलिएको थियो । भाल्भर्डे अहिले बार्सिलोनामा तेस्रो सिजन बिताइरहेका छन् ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार १४:३४
Loading...