सुपर कपमा उपाधि भिडन्त आज : एथ्लेटिको र रियल दुवै पहिलो उपाधि जित्ने दाउमा

काठमाडौं, पुस २७
जारी सिजनको स्पेनिस सुपर कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि रियल मड्रिड र एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त हुन लागेको हो । यसैपटकदेखि नयाँ ढाँचामा हुँदै गरेको प्रतियोगिताको उपाधि जितेर दुवै टिम नयाँ वर्ष २०२० को सुरुआत उपाधिसहित गर्ने योजनामा छन् ।

यसअघि सेमिफाइनलमा एथ्लेटिकोले बार्सिलोनालाई ३–२ ले हराएर फाइनल पुग्दा त्यसअघि रियल मड्रिडले भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनलमा स्थान बनाएको हो । सिजनको पहिलो उपाधिका लागि हुने मड्रिड डर्बी भिडन्तलाई निकै महत्त्वसाथ हेरिएको छ ।

साउदीमा जारी प्रतियोगिताको फाइनल खेल किङ अब्दुल्हा स्पोर्टस् सिटी रंगशालामा नेपाली समयअनुसार राति ११ः४५ बजेबाट हुनेछ । यसअघिका दुई सेमिफाइनल खेल पनि यसै रंगशालामा भएका थिए ।

यसअघि सेमिमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेल निकै रोमाञ्चक हुने पक्का छ । रियलले भ्यालेन्सियाविरुद्ध उत्कृष्ट खेलेको थियो भने एथ्लेटिकोले लिओनल मेस्सीको टिम बार्सिलोनालाई रोमाञ्चक स्थितिबाट हराएको थियो ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०५:२१
Loading...