‘नापोलीले बार्सिलोनालाई अन्तिम १६ मै देखाइदिने छ’

एजेन्सी, पुस २६
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ मा इटालियन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोना आमनेसामने हुँदैछन् । बार्सिलोना पछिल्ला चार वर्ष लगातार फाइनल नपुगी च्याम्पियन्स लिगबाट आउट हुँदै आउँदा उसलाई दुईपटक इटालियन क्लबले रोकेको छ ।

यसपटक पनि अन्तिम १६ मा बार्सिलोनाको बाटोमा इटालियन क्लब नै परेको छ । र, यो खेललाई धेरैले महत्त्वसाथ हेरेका छन् । बार्सिलोना नापोलीलाई पन्छाएर अघि बढ्ने योजनामा छ भने नापोली विश्वकै एक उत्कृष्ट क्लब र खेलाडी भएको टिमलाई अर्को नमिठो हारको सिकार बनाउने दाउमा छ ।

च्याम्पियन्स लिगका खेल आउन कबि पाँच साता बाँकी छँदा नापोलीका खेलाडी ड्रिएस मार्टिन्सले बार्सिलोनासँग खेलबारे बोलेका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले अन्तिम १६ मा आफूहरूभन्दा बढी बार्सिलोनाले डर बोक्ने बताए ।

‘मलाई लाग्छ, यस खेलमा हामीभन्दा बढी दबाबमा उनीहरू (बार्सिलोना) हुनेछन् । किनभने, उनीहरू प्रमुख उपाधि दाबेदार हुन् र उनीहरूसँग विश्वकै उत्कृष्ट खेलाडी छन्,’ मार्टिन्सले भने, ‘यस खेललाई लिएर हामीभन्दा उनीहरू बढी चिन्तित हुनुपर्छ ।’

मार्टिन्सले नापोलीसँग बार्सिलोनालाई डर हुने बताए । ‘उनीहरूलाई यो निकै राम्रोसँग थाहा छ कि, हामी उनीहरूलाई सजिलै जित्न दिनेछैनौं,’ मार्टिन्सले भने, ‘उनीहरूलाई हामीसँग ठूलो डर छ ।’

प्रकाशित मिति २६ पुष २०७६, शनिबार १५:३९
Loading...