बार्सिलोनालाई स्तब्ध बनाउँदै एथ्लेटिको फाइनलमा : उपाधिका लागि रियलसँग भिडन्त

काठमाडौं, पुस २५
दोस्रो सेमिफाइनल खेलमा प्रमुख उपाधि दाबेदार बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिको मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिकोले बार्सिलोनालाई पछि परेको अवस्था उल्टाएर ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनायो ।

साउदी अरेबियाको किङ अब्दुल्हा स्पोर्ट्स सिटी रंगशालामा भएको घम्साघम्सी र तनावपूर्ण खेलको दोस्रो हाफ रोमाञ्चक बनेको थियो । जहाँ दोस्रो हाफमै ५ गोल भए भने खेलाडीबीच पटक–पटक हात हालाहालको स्थिति पनि सिर्जना भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, एथ्लेटिकोले दोस्रो हाफ सुरु भएको २५ सेकेन्डमै गोल गरेर बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । सो गोल कोकेले गरेका थिए । तर, एथ्लेटिकोको अग्रता धेरैबेर टिकेन । बार्सिलोनाका लागि खेलको ५१औं मिनेटमा कप्तान लिओनल मेस्सीले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि पनि मेस्सीले दोस्रो गोल गरेका थिए । तर, सो गोल गर्नेक्रममा मेस्सीले बल नियन्त्रणमा लिँदा ह्यान्ड बल गरेको भन्दै भिएआरले मेस्सीको गोललाई मान्यता दिएन ।

त्यसपछि झन् आक्रामक बनेको बार्सिलोनाले खेलको ६२औं मिनेटमा दोस्रो गोल हान्यो । लुइस स्वारेजको हेडिङ एथ्लेटिकोका गोलकिपरले कठिन गरी पन्च गरेको बलमा एन्टोनी ग्रीजम्यानलले हेडिङबाटै आकर्षक गोल गरेर बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ग्रीजम्यानले पूर्वक्लबविरुद्ध पहिलो गोल गर्दा सेलिब्रेसन गर्न पनि भ्याए ।

सो गोलपछि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अर्टुरो भिडालको पासमा गोल गरेका थिए । तर, सो गोल पनि भिएआरले अफसाइड भन्दै रद्द गर्दा बार्सिलोनाले अग्रता बढाउन पाएन । सोहीक्रममा खेलको ८१औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पायो । बक्समा बार्सिलोनाका गोलकिपर नेटोले विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा अल्भारो मोराटाले गोल गर्दैै खेल २–२ बनाए ।

त्यससपछि विजयी गोलको खोजीमा ठूलै संघर्ष गरिरहेको बार्सिलोना त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला ८६औं मिनेटमा एथ्लेटिकोका लागि एन्जल कोरेरियाले गोल गरे । त्यसपछि बार्सिलोना खेलमा फर्किन सकेन । र, खेल एथ्लेटिकोले ३–२ ले जित्यो ।

यससँगै एथ्लेटिकोले अब फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको छ । रियल अघिल्लो दिन भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनल पुगेको छ । उपाधिका लागि हुने मड्रिड डर्बी भिडन्तलाई निकै महत्त्वसाथ हेरिएको छ । फाइनल खेल आइतबार राति हुनेछ ।

प्रकाशित मिति २४ पुष २०७६, बिहीबार २१:४०
Loading...