‘एलियन मेस्सीले अर्जेन्टिनी टोलीबाट उपाधि जितेरै छाड्छन्’

एजेन्सी, पुस २३
स्पेनिस बार्सिलोना क्लबबाट सबैखाले उपाधि जितेका लिओनल मेस्सीले हालसम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट एउटा पनि उपाधि जित्न सकेका छैनन् । पछिल्ला ६ वर्षमा मात्रै उनले तीन ठूला प्रतियोगिताका फाइनल खेले पनि मेस्सीले देशका लागि उपाधि उचाल्न पाएका छैनन्, जसका कारण मेस्सीको सधैं आलोचना हुने गर्छ ।

तर, बार्सिलोनाका पूर्वखेलाडी तथा अर्जेन्टिनाका पूर्वकप्तान जाउन सोरिनले मेस्सीले ढिलो–चाँडो अर्जेन्टिनी टोलीबाट उपाधि जितेरै छाड्ने बताएका छन् । उनले मेस्सी ‘एलियन’ खेलाडी रहेको भन्दै उनले उपाधि नजिती अर्जेन्टिनी टोलीबाट विश्राम नलिने बताए ।

‘उनी अन्यभन्दा निकै फरक र धेरै माथि छन् । यो उनको विशेषता हो । उनी भएको टिम सधैं उपाधिको दाबेदार हुन्छ । किनभने, मेस्सी एक्लै टिमका आधा हिस्सा बराबर हुन्,’ सोरिनले भने ।

सोरिनले अघि थपे, ‘उनी एलियन खेलाडी हुन् । उनले अर्जेन्टिनी टोलीबाट खेल्दा हामीलाई गर्व लाग्छ । अहिले अहिले देशका लागि उपाधि जित्न नपाउँदा उनी निराश छन् । तर, उनले एक दिन देशलाई केही न केही जिताएरै छाड्नेछन् ।’

प्रकाशित मिति २३ पुष २०७६, बुधबार ०६:०३
Loading...