बार्सिलोनामा बस्न भिडालको यस्तो सर्त

एजेन्सी, पुस २१
स्पेनिस बार्सिलोनाका ‘बिग गेम प्लेयर’ चिलियन मिडफिल्डर अर्टुरो भिडाल भित्र्याउन इटालीको क्लब इन्टर मिलान गम्भीरतापूर्वक लागेको छ । उसले जनवरी विन्डोमै ३२ वर्षका खेलाडी भित्र्याएर टिमलाई आक्रामक बनाउने योजना बनाएको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले भिडाललाई भित्र्याएर टोलीको मिडफिल्डमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् ।

यता, बार्सिलोनामा भने भिडालको अवस्था फरक छ । अघिल्लो सिजन जर्मन क्लब बार्यन म्युनिखबाट क्याम्प नोउ पुगेका भिडाल प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको टोलीमा विरलै मात्र पहिलो रोजाइमा पर्दै आएका छन् । अक्सर भिडालले बेन्चबाट खेलिरहेका छन् ।

तर, भिडाल अब भने बेन्चमै सीमित भएर बार्सिलोनामा बस्न तयार नरहेको खबर स्पेनिस मिडियाले छापेका छन् । भिडाल अहिले उत्कृष्ट लयमा रहेकाले उनले आफू पहिलो रोजाइमा पर्न हकदार रहेको ठानेका छन् । पछिल्ल्ला खेलमा भिडालले बार्सिलोनाको टोलीमा उच्च प्रदर्शन गर्दै टोलीको नतिजामा देखिने गरी योगदान दिइरहेका छन् ।

अक्सर टिम कठिन अवस्थामा रहेका बेला भाल्भर्डेले भिडाललाई प्रयोग गर्ने गरेका छन् । र, भिडालले पनि आफूलाई साबित गर्दै आएका छन् । प्रशिक्षकले दिएको थोरै समयमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका भिडाल आफूले कम्तीमा ५० प्रतिशत खेलमा सुरुआती टोलीमा स्थान पाउनुपर्ने नत्र क्लब छाड्ने सर्त प्रशिक्षकसँग राखेको खबरमा उल्लेख छ ।

खबरअनुसार यदि प्रशिक्षकबाट आफूले हालको भन्दा बढी समय पाउने वातावरण नदेखे भिडाल इटाली सर्न राजी हुने खबरमा जनाइएको छ । भिडालले अहिले जुन स्तरबाट खेलिरहेका छन्, त्यसबाट उनले हाल पाइरहेको भन्दा बढी समय पाउनुपर्ने बताइन्छ ।

यता, बार्सिलोना अहिले नै भिडाललाई बेचिहाल्ने अवस्थामा नरहेको बताइन्छ । ‘बिग गेम प्लेयर’ भिडाल ठूला खेलमा टिमका लागि उपयोगी हुने हुँदा क्लबले भिडाललाई राखेर क्रोएसियन मिडफिल्डर इभान राकिटिकलाई बेच्ने सम्भावना बढेको चर्चा सरुवा बजारमा छ ।

जारी सिजन भिडालले ला लिगामा १५ खेल खेल्दै ६ गोल गरेका छन् । च्याम्पियन्स लिगमा भने उनले ५ खेल खेले पनि गोल गर्न सकेका छैनन् ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १३:१०
Loading...