‘च्याम्पियन्स लिगमा नापोलीको लक्ष्य कम्तीमा सेमिफाइनल’

एजेन्सी, पुस १८
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को एक खेलमा स्पेनिस बार्सिलोना र इटालियन क्लब नापोलीको भिडन्त हुँदैछ । दुवै टोलीका लागि यो निकै कठिन ड्र मानिएको छ । बार्सिलोनाका लागि पछिल्ला चार सिजनमध्ये दुई सिजन उपाधि होडमा इटालीका क्लब नै तगारो बनेका छन् । तसर्थ, यसपटक पनि बार्सिलोनालाई नापोली चुनौतीपूर्ण हुने पक्का छ ।

यसैबीच, नापोलीका नयाँ खेलाडी हार्भिङ लोजानोले बार्सिलोनासँगको खेलबारे धारणा राखेका छन् । गत समर सिजनमा नापोलीमा अनुबन्ध भएका मेक्सिकन खेलाडीले आफूहरू बार्सिलोनालाई हराएर अन्तिम आठमा पुग्न सफल हुने विश्वास व्यक्त गरेका छन् । इटालीको पत्रिका ‘टुटो स्पोर्ट’सँग कुरा गर्दै उनले बार्सिलोना उत्कृष्ट खेलाडी भएको टिम भए पनि आफूहरू बिनादबाब उनीहरूविरुद्ध खेल्ने उनले बताए ।

‘हामी यो खेलका लागि निकै उत्साहित छौं । बार्सिलोना उत्कृष्ट खेलाडी भएको टिम हो । उनीहरूसँग विश्वकै उत्कृष्ट खेलाडी छन् । तर, हामी उनीहरूलाई अप्ठेरोमा पार्नेछौं,’ युवा खेलाडी लोजानोले भने, ‘उनीहरूविरुद्ध कसरी खेल्नुपर्छ, हामीलाई राम्रोसँग थाहा छ ।’

लोजानोले यो खेल खेल्दा आफूहरूभन्दा बार्सिलोना दबाबमा हुने भएकाले आफूहरूले त्यसको फाइदा लिने बताए । ‘उनीहरू उपाधि दाबेदार टिम हुन् । त्यसैले यस खेलमा हामीभन्दा उनीहरू ठूलो दबाबमा हुनेछन्,’ लोजानाले भने, ‘तर, हामीलाई खास दबाब हुनेछैन । हामी एक ठूलो टिमलाई रोक्ने गरी खेल्नेछौं ।’

लोजानाले नापोली यस सिजन सेमिफाइनलसम्म पुग्न सक्ने बताए । ‘सबै टिम उपाधि जित्न चाहन्छन् । हामी पनि चाहन्छौं । तर, प्रतियोगितामा निकै बलिया टोलीहरू छन् । हरेक खेल कठिन हुनेवाला छन्,’ लोजानाले भने, ‘हाम्रो लक्ष्य कम्तीमा सेमिफाइनल हो । हामी त्यसका लागि १०० प्रतिशत संघर्ष गर्नेछौं ।’

नापोली यो सिजन घरेलु लिगमा राम्रो अवस्थामा छैन । तर, च्याम्पियन्स लिगको समूह चरणमा उसले उतकृष्ट प्रदर्शन गरेको थियो । उसले साबिक विजेता लिभरपुलसँगका दुई खेलमध्ये आफ्नो घरमा २–० को जित निकालेर लिभरपुलको घरमा १–१ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार १३:०९
Loading...