बार्सिलोनाका ‘बिग गेम प्लेयर’ भिडाल भित्र्याउन इन्टर मिलानको कसरत

एजेन्सी, पुस १६
अहिले स्पेनिस क्लब बार्सिलोनामा कुनै खेलाडी सरुवा चर्चामा छन् भने उनी चिलियन मिडफिल्डर अर्टुरो भिडाल हुन् । अघिल्लो सिजन जर्मन क्लब बार्यन म्युनिखबाट बार्सिलोना पुगेका उनलाई यही जनवरी सिजनमा अनुबन्ध गर्न विभिन्न क्लब लागिपरेका छन् ।

खास गरी इटालीको क्लब इन्टर मिलान ३२ वर्षका मिडफिल्डर भित्र्याउन लागिपरेको छ । अन्य केही क्लबले पनि यी खेलाडीमाथि नजर लगाइहेका छन् । तर, बार्सिलोना भने आफ्ना बेन्चका प्रमुख हतियार बेच्ने अवस्थाबाट पछि हट्ने देखिएको छ ।

हालै मात्र बार्सिलोकाले युवा मिडफिल्डर कार्लेस अलिनालाई लोनमा ला लिगाकै रियल बेटिस पठाएकाले बार्सिलोनाले तत्कालै भिडाल नबेच्ने रिपोर्ट स्पेनिस मिडियाले दिएका छन् । यसअघि बार्सिलोनाले इभान राकिटिक र भिडाल दुवैलाई बेच्न सक्ने चर्चा थियो ।

बार्सिलोनामा अक्सर बेन्चबाट खेल्ने भए पनि भिडाल ‘बिग गेम प्लेयर’का रूपमा साबित हुँदै आएका छन् । मिडफिल्डमा जबर्जस्त प्रभाव जमाएर खेल्ने उनलाई प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले कठिन खेलमा प्रयोग गर्ने गरेका छन् ।

सरुवा बजार खुलिसके पनि बार्सिलोनाले भिडाल बेच्छ वा क्लबमै राख्छ भन्ने स्पष्ट संकेत छैन । टोलीमा सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङ, अर्थुरसहित केही ‘बी’ टिममा पनि क्षमतावान् युवा मिडफिल्डर भएकाले बार्सिलोनाले पहिलो टिमबाट कम्तीमा एक खेलाडी अझै बेन्चे सम्भावना छ ।

बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले अलिना यो सिजनसम्मका लागि बेटिस हिँडेपछि भिडाल क्याम्प नोउमै रहने निश्चितप्रायः भएको खबर छापेको छ । तर, अन्य केही मिडियाले भने बार्सिलोनाले ‘बी’ टिमका खेलाडीलाई तयार पार्न पनि राकिटिक र भिडालमध्ये एक खेलाडीलाई जनवरीमै बिदा गर्ने प्रबल सम्भावना रहेको खबर छापेका छन् ।

प्रकाशित मिति १६ पुष २०७६, बुधबार १५:३६
Loading...