नेइमार फर्काउने विषयमा खेलाडी पूर्वतिर, क्लब पश्चिमतिर !

एजेन्सी, पुस १४
स्पेनिस बार्सिलोनाले आगामी समर सिजनमा पूर्वस्टार खेलाडी नेइमार भित्र्याउने चर्चा अहिले पनि छ । गत समरमै बार्सिलोनाले फ्रेन्च क्लब पिएसजीबाट आफ्ना पूर्वखेलाडी भित्र्याउन प्रयास नगरेको होइन । तर, पिएसजीको महँगो मूल्य बार्सिलोनाका लागि बाधक बन्यो ।

बार्सिलोनामा खास गरी खेलाडीको चाहनाका कारण क्लबले पूर्वखेलाडी नेइमारलाई पुनः अनुबन्ध गर्न चाहेको देखिन्छ । जसमा कप्तान लिओनल मेस्सी, लुइस स्वारेज र जेरार्ड पिकेलगायत खेलाडी अझै पनि नेइमार भित्र्याउनुपर्ने अडानमै छन् । उनीहरूले त यदि नेइमार भित्र्याउन क्लबलाई आर्थिक समस्या पर्ने भए आफूहरूले तलब ढिला लिएर सघाउने भनेर सार्वजनिक रूपमै बताइसकेका छन् ।

यसैबीच, बार्सिलोनाको बोर्डका बहुसंख्यक सदस्यले भने नेइमार भित्र्याउने योजनाको विरोध गरेका छन् । उनीहरूले नेइमार फर्काउनुभन्दा पिएसजीकै फ्रेन्च फरवार्ड केलियन एमबाप्पे वा अन्य कोही युवा फरवार्डमा लगानी गर्नुपर्ने बताएका छन् ।

बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले बार्सिलोनाका बोर्ड अधिकारी तथा सदस्यहरूलाई समेटेर गरेको एक सर्वेक्षणअनुसार करिब ८० प्रतिशतले नेइमार भित्र्याउने योजनाको विरुद्धमा मत दिएका छन् । ‘के तपाईं पुनः नेइमार अनुबन्ध गर्न चाहनुहुन्छ ?’ भनेर सोधिएको थियो ।

जसमा ८०.६६ प्रतिशतले ‘नो’ भन्ने जवाफ दिए भने मात्रै १४.३३ प्रतिशतले ‘हुन्छ’ भन्नेमा मत दिए । सोहीक्रममा ‘तपाईं नेइमार र एमबाप्पेमध्ये कसलाई अनुबन्ध गर्न चाहनुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा ९.६६ प्रतिशतले मात्रै नेइमार रोजे भने ८१.३३ प्रशितले फ्रेन्च खेलाडी एमबाप्पे रोजे ।

प्रकाशित मिति १४ पुष २०७६, सोमबार १२:३२
Loading...