भान डाइकलाई पछि पार्दै मेस्सीले जिते वर्ल्ड सकर अवार्ड

एजेन्सी, पुस १२
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले ‘वर्ल्ड सकरर्स प्लेयर अफ् द इयर फर २०१९’ अवार्ड जितेका छन् । अर्जेन्टिनी फरवार्ड मेस्सीले इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई झिनो अंकले पछि पार्दै प्रतिष्ठित अवार्डमा बाजी मारेका हुन् ।

त्यस्तै, प्रशिक्षकतर्फ उत्कृष्ट अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जितेका छन् । टिम अवार्ड पनि गत सिजन च्याम्पियन्स लिग जितेको लिभरपुलले नै जित्यो ।

मेस्सीले बालोन डि‘ओर अवार्डमा समेत प्रतिस्पर्धी रहेका भान डाइकलाई मात्रै ११ अंकले पछि पारेर अवार्डमा बाजी मारेका हुन् । मेस्सीले यो अवार्ड यसअघि सन् २००९, २०११, २०१२ र २०१५ मा गरी चारपटक जितिसकेका थिए । यसपटक उनले पाँचौंपटक यो अवार्ड जितेका हुन् ।

अब मेस्सीले यो अवार्ड सर्वाधिक बढी पाँचपटक जित्ने आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गरेका छन् । मेस्सीले यसपटक जित्नुअघि सो अवार्ड सर्वाधिक जित्ने रेकर्ड रोनाल्डोको नाममा थियो । तर, अब दुवैका नाममा समान ५–५ अवार्ड भएको छ ।

अवार्डको नतिजा :

  • लिओनल मेस्सी (बार्सिलोना–अर्जेन्टिना) – ६१३ अंक
  • भर्जिल भान डाइक (लिभरपुल–नेदरल्यान्ड्स)– ६०२ अंक
  • साडियो माने (लिभरपुल–सेनेगल) – ३६६ अंक
  • क्रिस्टियानो रोनाल्डो (युभेन्टस–पोर्चुगल) – ३०७ अंक
  • केलियन एमबाप्पे (पिएसजी–फ्रान्स) –२१६ अंक

प्रकाशित मिति १२ पुष २०७६, शनिबार ११:२४
Loading...