बार्सिलोना विश्वकै धनी क्लब : रोनाल्डोका कारण युभेन्टस पहिलोपटक धनी क्लबको सूचीमा

एजेन्सी, पुस ११
स्पेनिस क्लब बार्सिलोना विश्वकै सबैभन्दा धनी क्लब बनेको छ । अष्ट्रेलियाको स्पोट्र्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोट्र्स’ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बार्सिलोना यतिबेलाको सबैभन्दा धनी र सम्पन्न क्लब बनेको हो ।

सो प्रतिवेदनअनुसार बार्सिलोना खेलाडीको तलबमा सबैभन्दा धेरै पैसा खर्चिने क्लब हो । उसले हरेक वर्ष आफ्ना खेलाडीको तलबका लागि १ सय ४७ करोड रुपैयाँ खर्च गर्ने गर्छ । यो नेपाली रुपैयाँमा हो ।

गएको वर्ष बार्सिलोनाले खेलाडीको तलबका लागि मात्रै कूल १ सय ५६ करोड खर्चेको थियो । तर, यसपटक भने बार्सिलोनाको तलबमा गत वर्षको भन्दा ९ करोड रुपैयाँ कम खर्च भएको छ । ९ करोड कम खर्च भए पनि बार्सिलोना अझै पनि सबैभन्दा धेरै तलब बजेटमा खर्चिने क्लब हो ।

यता, बार्सिलोनापछि दोस्रे स्थानमा स्पेनकै क्लब रियल मड्रिड छ । रियलले एक वर्षमा खेलाडीको तलबका लागि १ सय ३२ करोड रुपैयाँ खर्चने गर्छ ।

त्यसपछि तेस्रो स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसले हालको अवस्थामा खेलाडीका लागि एक वर्षमा १ सय २० करोड रुपैयाँ खर्चने गर्छ । क्रिस्टियानो रोनाल्डोको अनुबन्ध भएपछि युभेन्टको व्यापारमा कैयौं गुणाले वृद्धि भएको छ भने क्लबको खर्च पनि बढेको छ । रोनाल्डोको अनुबन्धपछि युभेन्टस अहिले सर्वाधिक धनी क्लबको सूचीमा दर्ज भएको हो ।

प्रकाशित मिति १२ पुष २०७६, शनिबार ०३:५७
Loading...