‘बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अघि बढ्दैन’

एजेन्सी, पुस ९
जारी सिजन युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब युभेन्टस र साबिक विजेता इंग्लिस क्लब लिभरपुल पुग्ने बुल्गेरियाका अवकासप्राप्त खेलाडी डिमिटार बर्बाटोभले बताएका छन् । ‘बेटफेयर’सँग कुरा गर्दै उनले यस सिजन पनि लिभरपुल फाइनल पुग्ने र उसको प्रतिस्पर्धी युभेन्टस हुने बताएका हुन् ।

टोटनह्याम तथा म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी बर्बाटोभले प्रमुख उपाधि दाबेदार म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये एक टिम अन्तिम १६ बाटै आउट हुने भएकाले फाइनल पुग्न सक्ने सम्भावित टिमको आँकलन गर्न सकिने बताएका हुन् । अहिले अन्तिम १६ मा सबैको ध्यान सिटी र रियलको खेलमै केन्द्रित रहेको पनि उनले बताए ।

‘अहिले अन्तिम १६ मा सिटी र मड्रिडमाथि धेरैको ध्यान हुनेछ । किनभने, यस चरणबाटै विश्वकै एक ठूलो टिम प्रतियोगिताबाट बाहिर हुनेछ,’ उनले भने, ‘यीमध्ये एक टिम सुरुमै बाहिर हुनु भनेको उपाधि जित्नेवाला टिमको एक ठूलो बाधक सकिनु हो ।’

बर्बाटोभले टिमको सबै पक्ष हेर्दा फाइनलमा साबिक विजेता लिभरपुल र युभेन्टस पुग्न सक्ने बताए । ‘युभेन्टसले भर्खरै लाजियोसँग सुपरकोपा हारे पनि उनीहरू ठूला टिम हुन् । रोनाल्डोको साथमा युभेन्टस अहिले बलियो छ, उनीबाहेक पनि टालीमा एकसे एक खेलाडी छन्,’ बर्बाटोभले भने, ‘उनीहरू च्याम्पियन्स लिगको फाइनल पुग्न सही दिशामा छन्, उनीहरूको भेट लिभरपुलसँग हुन सक्छ ।’

बर्बाटोभले टोटनह्यामले यो सिजन पनि गत सिजनझैं च्याम्पियन्स लिगका लागि संघर्ष गर्ने बताए । ‘उनीहरूले गत सिजनझैं यसपटक पनि यस प्रतियोगितामा लड्नेछन्, उनीहरूसँग हिम्मत र योजना छ,’ बर्बाटोभले भने ।

बर्बाटोभले लियोनल मेस्सीको टिम बार्सिलोनालाई यसपटक अन्तिम १६ बाट अघि बढ्नै कठिन रहेको बताए । ‘बार्सिलोनासँग विश्वकै उत्कृष्ट खेलाडी छन् । तर, टिमका रूपमा उनीहरू अहिले बलिया टिम होइनन् । उनीहरूलाई पनि राम्रोसँग थाहा छ,’ बर्बाटोभले भने, ‘मेरो विचारमा नापोली अर्को चरण जानेवाला छ ।’

प्रकाशित मिति ९ पुष २०७६, बुधबार १४:३२
Loading...