मेस्सीबारे मोउरिन्होको यस्तो रोचक टिप्पणी

एजेन्सी, पुस ८
हालै इंग्लिस क्लब टोटनह्यामको प्रमुख प्रशिक्षकमा नियुक्त भएका जोसे मोउरिन्होले स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीको तारिफ गरेका छन् । पोर्चुगलका मोउरिन्होले मेस्सी एक उत्कृष्ट खेलाडी मात्रै नभएर उनीसँग प्रशिक्षकलाई उत्कृष्ट बनाउने क्षमतासमेत रहेको बताएका हुन् ।

विगतमा रियल मड्रिड, इन्टर मिलान, चेल्सीमा रहँदा पटक–पटक मेस्सीको टिम बार्सिलोनाविरुद्ध आफ्नो टिम उतारेका मोउरिन्होले मेस्सीविरुद्ध टिम बनाउन र रणनीति तयार पार्न प्रशिक्षकलाई सधैं टाउको दुखाइको विषय बन्ने बताए । हालै एक अन्तर्वार्तामा बोल्दै मोउरिन्होेले भनेका छन्, ‘मैले मेस्सीविरुद्ध चेल्सी, इन्टर मिलान र रियल मड्रिडमा छँदा पटक–पटक खेलें । फरक–फरक टिम, फरक सिद्धान्त र फरक उद्देश्यका साथ । उनीबारे मसँग सबैखाले अनुभव छन् ।’

मोउरिन्होले अन्य प्रशिक्षकले आफ्ना खेलाडीलाई उत्कृष्ट बनाउने तर मेस्सीले आफ्ना वा विपक्षी टिमका प्रशिक्षकलाई उत्कृष्ट बनाउन क्षमता राख्ने भन्दै खुलेर तारिफ गरे । मेस्सीसँग एक उत्कृष्ट खेलाडीमा हुनुपर्ने गुण मात्रै नभएर प्रशिक्षकलाई उत्कृष्ट बनाउने गुण रहेको मोउरिन्हो ठान्छन् ।

‘मेस्सी आफू एक उत्कृष्ट खेलाडी हुन्, यसमा दुईमत छैन । फरक यो छ कि, अन्य प्रशिक्षक आफ्ना खेलाडीलाई उत्कृष्ट बनाउँछन् तर मेस्सी आफ्ना वा विपक्षी टिमका प्रशिक्षलकाई पनि उत्कृष्ट बनाउने क्षमता राख्छन्,’ मोउरिन्होले भने, ‘जब तपाईं मेस्सीलाई प्रशिक्षण दिँदै हुनुहुन्छ वा मेस्सीविद्ध खेल्दै हुनुहुन्छ भने उनीबारे गहिरो अध्ययन गरेर योजना बनाउन ठूलो मेहनत गर्नुपर्छ । उनको स्तर र क्षमताले सामान्य प्रशिक्षकलाई हरेक दिन उत्कृष्ट बन्न दबाब दिइरहेको हुन्छ ।’

प्रकाशित मिति ९ पुष २०७६, बुधबार ०२:२८
Loading...