मेस्सीको काँधमा बार्सिलोना : टिमको कूल गोलमध्ये ७५ प्रतिशतमा मेस्सी सहभागी !

एजेन्सी, मंसिर २७
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी टिमका लागि प्रमुख खेलाडी हुन् । उनी टिममा नहुाँद बार्सिलोनालाई उपाधि जित्न मात्रै हैन, खेल जित्न पनि कठिन हुने गर्छ । पटक–पटकका नतिजाले यो कुरा साबित गरेको छ ।

बार्सिलोनामा गोल मेसिन खेलाडीका रूपमा रहेका मेस्सी जति गोल गर्छन्, टिमलाई गोलका लागि असिस्ट पनि उत्तिकै गरिरहेका हुन्छन् । गोलकर्ता खेलाडी मात्रै नभएर प्ले मेकर खेलाडीका रूपमा समेत आफूलाई प्रमाणित गरेका मेस्सी हरेक वर्ष बार्सिलोनाका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता बन्छन् । टिमले गरेका कूल गोल संख्यामा मेस्सी एक्लै बहुसंख्यक गोल र असिस्टमा सहभागी हुनुलाई सामान्य मान्न सकिँदैन ।

गएको सिजन उनले सिजनभरमा कूल ५१ गोल गर्दा कूल १९ गोलमा असिस्ट गरेका थिए, जुन युरोपका अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक बढी थियो ।

यो सिजन पनि मेस्सीको तथ्यांक कमको छैन । सिजनको सुरुआतमा चोटका कारण समस्यामा परेका मेस्सी अहिले आफ्नो उत्कृष्ट लयमा फर्किएका छन् । र, उनले गोल र असिस्ट पनि उत्तिकै गरिरहेका छन् ।

बार्सिलोनाकै अफिसियल वेबसाइटले प्रकाशन गरेको ताजा तथ्यांकले भन्छ– मेस्सी यो सिजन पनि बार्सिलोनालाई पिठ्युँमा बोकेर हिँडिरहेका छन् । किनभने, यो सिजन बार्सिलोनाले गरेका गरेका कूल गोल संख्यामध्ये औसतमा ७५ प्रतिशत कूल गोलमा मेस्सी एक्लैको सोझो सहभागिता छ । यो सिजन बार्सिलोनाले गरेका पछिल्ला ३० गोलमध्ये मेस्सी ७४ प्रतिशत गोल–असिस्ट गरेका छन् ।

गत राति युरोपियन च्याम्पियन्स लिगमा इटालियन इन्टर मिलानलाई १–२ ले हराउनुभन्दा अघिसम्म बार्सिलोनाले गरेका पछिल्ला ३० गोलमध्ये मेस्सी ठ्याक्कै २२ गोलमा सहभागी भएका छन् । जसमा उनले १४ गोल आफैंले गरेका छन् भने ८ गोलमा असिस्ट गरेका छन् । सिंगो टिमको नतिजामा एक खेलाडीले बनाएको यस्तो तथ्यांक पक्कै पनि सामान्य मान्न सकिँदैन ।

मेस्सीकै प्रेरणादायी प्रदर्शनको बलमा बार्सिलोना अहिले ला लिगाको शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १६:१९
Loading...