मेस्सीको जादु उस्तै : ह्याट्रिक हानेपछि बार्सिलोनाको शानदार जित

काठमाडौं, मंसिर २२
कप्तान लिओनल मेस्सीले ह्याट्रिक गोल हानेपछि स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले शानदार जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा बार्सिलोनाले भ्रमणकारी टोली आरसिडी मालोर्सामाथि ५–२ को जित निकालेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मेस्सीले ३ गोल गर्दा एन्टोनी ग्रीजम्यान र लुइस स्वारेजले १–१ गोल गरे । बार्सिलोनाका लागि खेल सुरु भएको सातौं मिनेटमै एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले दिएको डाइरेक्ट पासको बललाई नियन्त्रणमा लिएर ग्रीजम्यानले चिप प्रहार गर्दै गोल गरेका थिए ।

त्यसको १० मिनेटमै बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरे । उनले ग्रीजम्यानको पासमा बक्स बाहिरबाट हानेको दर्शनीय प्रहारले माथिल्लो बार च्याप्दै जाली चुमेको थियो । तर, खेलको ३५औं मिनेटमा पाहुना टोली मालोर्साले गोल फर्कायो । एन्टे बुदिमिरले बक्स लाइनबाट हानेको प्रहारले बार्सिलोनाका डिफेन्डरलाई छिचोल्दै पोस्टको दिशा लिएको थियो ।

त्यसपछि ४१औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । इभान राकिटिकको पासमा उनले निकै सुन्दर गोल गरेका थिए । लगत्तै ४३औं मिनेटमा स्वारेजले ब्याक हिलमा निकै शानदार गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४–१ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा पाहुना टोली मालोर्साका लागि ६४औैं मिनेटमा बुदिमिरले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल ४–२ मा झारेका थिए । तर, खेलको ८३औं मिनेटमा बार्सिलोनाका लागि मेस्सीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले ५–२ ले जित्यो । अब यो जितसँगै बार्सिलोना पुनः अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसको खातामा १५ खेलपछि ३४ अंक छ । समान अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार ०१:३८
Loading...