‘छैटौं नै अन्तिम हैन, मेस्सीले चाँडै सातौं बालोन डि‘ओर पनि जित्नेछन्’

एजेन्सी, मंसिर २०
दुई दिनअघि फ्रान्सको पेरिसमा छैटौंपटक बालोन डि‘ओर जितेसँगै बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी अब सो अवार्ड सर्वाधिक धेरैपटक जित्ने खेलाडी बनेका छन् । सन् २००४ देखि लगातार बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले २०१५ पछि पुनः सो अवार्डमा बाजी मारे ।

मेस्सीले छैटौंपटक बालोन डि‘ओर जितेपछि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोेमेउले आफ्ना खेलाडीको तारिफ गर्दै बधाई ज्ञापन गरेका छन् । त्यत्ति मात्रै हैन, उनले त मेस्सीले चाँडै सातौं बालोन डि‘ओर पनि जित्ने बताएका छन् ।

‘एक शानदार इतिहास । छैटौं बालोन डि‘ओरका लागि विश्वकै सर्वकालीन् महान् खेलाडीलाई हार्दिक बधाई । यो खुसीयाली मनाउन पाउँदा विश्वकै सर्वोत्कृष्ट क्लब खुसी छ,’ बार्टोमेउले सामाजिक सन्जालमार्फत् मेस्सीलाई बधाई दिएका छन् ।

मेस्सीले अवार्ड थाप्ने समारोहमा भाग लिन पेरिस पुगेर स्पेन फर्किएपछि मिडियासँग कुरा गर्दै बार्टोमेउले मेस्सीले निकट भविष्यमै सातौं बालोन डि‘ओर पनि जित्ने बताए । ‘यो नै अन्त्य होइन । आशा छ, लियोले चाँडै सातौंपटक यो गोल्डेन बल जित्नेछन्,’ बार्टोमेउले भने ।

बार्टोमेउले मेस्सीलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी बनाउन सबथोक सहयोग गर्ने बताए । ‘उनी अहिले नै सबैभन्दा माथि छन्, यो हाम्रो विश्वास हो,’ उनले भने, ‘यदि मेस्सीले अझै केही साबित गर्न बाँकी छ भने त्यसका लागि पनि क्लब उनलाई सघाउन तत्पर छ ।’

प्रकाशित मिति २० मंसिर २०७६, शुक्रबार ०३:१५
Loading...