बालोन डि‘ओर अवार्डमा नेपालको भोट कसलाई ?

काठमाडौं, मंसिर १७
वर्ष २०१९ को प्रतिष्ठित बालोन डि‘ओर अवार्ड स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीले जिते । उनले इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई मात्रै ७ अंकको अन्तरमा पछि पारेर छैटौंपटक अवार्डमा बाजी मारे ।

यसपटक इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने मात्रै तेस्रो स्थानमा रहे । मेस्सीले कूल ६८६ अंक पाएर अवार्ड जित्दा दोस्रो बनेका भान डाइकले ६७९ अंक पाए । त्यस्तै, तेस्रो बनेका रोनाल्डोले ४७६ अंक पाए ।

नेपालबाट भोट कसलाई ?

बालोन डि‘ओर घोषणा गर्न आयोजकले विभिन्न ९० देशका एक–एक जना पत्ररकालाई भोट गर्ने अधिकार दिएको छ । जसमा नेपालबाट कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङ तामाङले बालोन डि‘ओर विजेता छान्न नेपालको प्रतिनिधित्व गर्दै भोट दिँदै आएका छन् ।

यसपटक पत्रकार घिसिङले सबैभन्दा ठूला अंकको पहिलो भोट लिभरपुलका भान डाइकलाई दिएका छन् । दोस्रो भोट मात्र उनले बार्सिलोनाका मेस्सीलाई दिएका छन् । त्यस्तै, तेस्रो भोट उनले लिभरपुलका साडियो मानेलाई दिए भने चौथो भोट बार्सिलोनाकै फ्रेन्की डे जोङलाई । उनले अन्तिम भोट मात्रै युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई दिए ।

प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०२:३३
Loading...