मेस्सीलाई चौथोपटक ‘वर्षकै सर्वोत्कृष्ट प्ले मेकर’ को अवार्ड

एजेन्सी, मंसिर १४
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीले वर्ष २०१९ का लागि वर्षकै सर्वोत्कृष्ट प्ले मेकरको अवार्ड जितेका छन् । उनले यो अवार्ड चौथोपटक जितेका हुन् । यसअघि मेस्सीले यो अवार्ड सन् २०१५, २०१६, २०१७ मा पनि जितिसकेका छन् ।

मेस्सीले निकै फराकिलो अंकसहित सो अवार्डमा बाजी मारेका हुन् । यसपटक मेस्सीले इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन खेलाडी केभिन डे ब्रुयानलाई पछि पार्दै अवार्ड जिते । तेस्रो नम्बरमा यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका बेल्जियमकै इडेन हाजार्ड छन् ।

यो अवार्ड ‘इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिस्टिक्स’ले दिने गर्छ । अवार्ड फुटबल विशेषज्ञहरूको टोलीले गर्ने गर्छ । यो अवार्ड सबै महादेशका खेलाडीबाट छनोट गरिन्छ । यसपटक कूल ९० देशका खेलाडीबाट सर्वोत्कृष्ट प्ले मेकर घोषणा गरिएको हो ।

यस वर्ष मेस्सीको शानदार प्रदर्शनले उनलाई चौथोपटक प्रतिष्ठित अवार्ड जिताउन सफल भयो । यससँगै मेस्सीले यो अवार्ड सर्वाधिक बढी जित्ने स्पेन तथा बार्सिलोनाका पूर्वखेलाडी जाभीको रेकर्डसँग पनि बराबरी गरेका छन् । मेस्सीअघि जाभीले यो अवार्ड सर्वाधिक बढी चारपटक जितेका थिए ।

अब मेस्सी र जाभी यो अवार्ड सर्वाधिक बढी चार–चारपटक जित्ने खेलाडी बनेका छन् । यो अवार्ड फ्रान्सका पूर्वखेलाडी जिनेदिन जिदान, ब्राजिलका काका, जर्मनीका टोनी क्रुसले समान एक–एक पटक जितेका छन् । त्यस्तै, स्पेन तथा बार्सिलोनाका पूर्वखेलाडी आन्द्रेस इनिएस्टाले पनि दुईपटक जितेका छन् । गत वर्ष यो अवार्ड रियल मड्रिडका लुका मोड्रिकले जितेका थिए । यो अवार्ड सन् २००६ बाट दिन थालिएको हो ।

यसै संस्थाले दिने ‘वर्षकै उत्कृष्ट गोलकर्ता’को अवार्ड भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले चारपटक जितेका छन् । यो अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक बढी हो । यो अवार्ड बार्सिलोनाका मेस्सीले मात्रै दुईपटक जितेका छन ।

प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार ०४:४४
Loading...