यदि बालोन डि‘ओर उत्कृष्ट खेलाडीलाई दिइन्छ भने हरेक वर्ष मेस्सीलाई दिँदा हुन्छ : क्लोप

एजेन्सी, मंसिर ९
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी यसवर्ष छैटौं बालोन डि‘ओर जित्ने दौडमा छन् । गत सिजन बार्सिलोनालाई घरेलु लिग ला लिगाको उपाधि जिताउनेक्रममा ५१ गोलसहित २२ गोलका लागि असिस्ट गरेका उनले यसअघि फिफा बेस्ट खेलाडीको अवार्ड जितिसकेका छन् ।

मेस्सी अब फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओर छैटौंपटक जित्ने नजिक छन् । उनको प्रतिस्पर्धा इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकसँग छ । तर, गत सिजन लिभरपुल प्रिमियर लिगमा उपविजेता हुँदा तथा च्याम्पियन्स लिग विजेता र यसवर्ष युइएफए सुपर कपको च्याम्पियन बन्द टिमका लागि महत्त्वपूर्ण योगदान दिएका भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ ।

यसैक्रममा लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले भने यसवर्ष बालोन डि‘ओर भान डाइकले जित्नेमा कुनै शंका नरहेको बताएका छन् । उनले बालोन डि‘ओर र फिफा अवार्ड घोषणा प्रक्रियामा केही फरक रहेकाले बालोन डि‘ओर भान डाइकले नै जित्ने दाबी गरेका छन् ।

हालै एक अन्तर्वार्तामा बोल्दै क्लोपले भनेका छन्, ‘यदि तपाईं यो पुस्ताको उत्कृष्ट खेलाडीलाई बालोन डि‘ओर दिनुहुन्छ भने लिओनल मेस्सीलाई हरेक वर्ष दिँदा हुन्छ,’ क्लोपले भने, ‘तर, यदि तपाईं गत सिजनको सर्वोत्कृष्ट खेलाडीलाई बालोन डि‘ओर दिनुहुन्छ भने उनी भर्जिल भान डाइक, यसमा कुनै शंका छैन ।’

क्लोपले अगाडि थपे, ‘मेस्सी सर्वकालीन उत्कृष्ट खेलाडी हुन् तर भान डाइक गत सिजनका लागि । गत सिजनका लागि तपाईं भान डाइकसँग मेस्सी वा रोनाल्डो, कसैको पनि तुलना गर्न सक्नुहुन्न । भान डाइकको योगदान मेस्सीको भन्दा धेरै माथि छ ।’

प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार १५:३०
Loading...