२०औं स्थानको लेगानेसमाथि बार्सिलोनाको कमब्याक जित : शीर्ष स्थान कायमै

काठमाडौं, मंसिर ७
सब्सिच्युट मिडफिल्डर अर्टुरो भिडालले खेलको अन्त्यतिर गरेको गोलको मदतमा लिग लिडर बार्सिलोनाले ला लिगामा कमब्याक जित निकालेको छ । शनिबार अवे मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली लेगानेसविरुद्ध पछि परेको अवस्था उल्टाएर संघर्षपूर्ण १–२ को जित निकाल्न सफल भयो । अवे मैदानमा बार्सिलोनालाई ३ अंक जिताउन भिडाल नायक बने ।

आफ्नो घरमा भएको खेलमा लेगानेसले पहिलो हाफमा १–० को अग्रता लिए पनि त्यसलाई दोस्रो हाफमा जोगाउन नसक्दा हार टार्न सकेन । आफ्नो घरमा आक्रामक खेल खेलेको लेगानेसका लागि खेल सुरु भएको १२औं मिनेटमै युसुफ इन–नेसरीले शानदार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

उनले रोक्यु मेसाले दिएको पासमा बल बक्स लाइनमा पुर्याएर हानेको बुलेट प्रहारले सोझै जाली चुमेको थियो । उनको प्रहार बार्सिलोनाका गोलरक्षकले रोक्न प्रयाससम्म गर्न भ्याएनन् ।

पहिलो हाफमा घरेलु टोली लेगानेस बार्सिलोनाविरुद्ध निकै बलियो देखिएको छ । उसका डिफेन्डरले बार्सिलोनाका सबैजसो मुभ निस्तेज पारिदियो । पहिलो हाफमा बल पोजिसन बढी बार्सिलोनाले राखे पनि बढी आक्रमण भने लेगानेसले गरेको थियो ।

दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । सुरुआतबाट बराबरी गोलका लागि संघर्ष गरिररहेको बार्सिलोनाका लागि ५३औं मिनेटमा लुइस स्वारेजले गोल गरेर खेल बराबरी बनाए । मेस्सी हानेको फ्रि किकमा बक्समा रहेका स्वारेजले हेडिङमार्फत् सुन्दर फिनिसिङमा बललाई पोस्टको दिशा दिएपछि खेल १–१ भयो ।

त्यसपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले ५७औं मिनेटमा एकसाथ दुई खेलाडी परिवर्तन गरे । एन्टोनी ग्रीजम्यानको ठाउँमा अर्टुरो भिडाल आए भने सर्जियो बुस्केट्सको ठाउँमा इभान राकिटिक भित्र्याएपछि बार्सिलोनाले आक्रमण बढाएको थियो ।

सोहीक्रममा खेलको ७९औं मिनेटमा भिडालले रि–बाउन्ड बलमा बक्स भित्रबाट गोल गरेपछि खेलमा बार्सिलोनाले १–२ को लिड लियो । विवादित बनेको भिडालको सो गोललाई भिएआरबाट मान्यता दिइएको थियो । त्यसपछि बाँकी समयमा लेगानेस खेलमा फर्किन सकेन । र, खेल बार्सिलोनाले १–२ ले जित्यो ।

यो जितपछि बार्सिलोनाले १३ खेलबाट २८ अंक जोडेको छ । ऊ एक खेल कम खेलेको रियल मड्रिडभन्दा ३ अंकले अघि छ । रियलले आजै राति आफ्नो खेल खेल्दैछ । यता, पराजित लेगानेस भने १४ खेलबाट ६ अंकसहित २०औं स्थानमा छ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार १६:१४
Loading...