युभेन्टसद्वारा रोनाल्डो घाइते भएको पुष्टि : कहिलेसम्म मैदानबाहिर ?

एजेन्सी, मंसिर ६
इटालियन क्लब युभेन्टसले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएको पुष्टि गरेको छ । शनिबार घरेलु लिगमा एट्लान्टासँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सार्रीले रोनाल्डोलाई चोट लागेको पुष्टि गरेका हुन् ।

हालै अन्तर्राष्ट्रिय ड्युटीक्रममा युरो कप छनौटमा दुई खेल खेलेर फर्किए पनि रोनाल्डो फिट नरहेकाले उनले केही दिन आराम गर्ने भएका हुन् । युरो कप छनौटमा आफ्नो देशलाई प्रतियोगितामा छनौट गराउनेक्रममा दुई खेलबाट ५ गोल गरेका रोनाल्डोले एक ह्याट्रिक गरेका थिए ।

गत महिनाबाट चोट बोकेर खेलिरहेका रोनाल्डो युरो कप छनौटक्रममा आफू पूर्ण रूपमा फिट नरहेको बताएका थिए । चोट बोकी–बोकी पोर्चुगलका लागि दुई खेल खेलेका रोनाल्डोलाई युभेन्टसमा भने प्रशिक्षकले जोखिम मोल्न चाहेनन् ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै सार्रीले भने, ‘क्रिस्टियानोको विषयमा थप केही स्पष्टीकरण दिनु आवश्यक छैन । निश्चित समयमा खेलाडीलाई फिट हुन र शान्त हुन आराम चाहिन्छ । मंगलबार मात्रै उनले मलाई भेट गरी आफू फिट अवस्थामा नरहेको बताए । र, उनी टोलीमा हुनेछैनन् ।’

सार्रीले रोनाल्डो च्याम्पियन्स लिगको खेलबाट मैदान फर्किने बताए । ‘उनको उद्देश्य च्याम्पियन्स लिगमा पूर्ण फिट भएर मैदान फर्किनु हो, उनी थप मजबुत बनेर आउनेछन्,’ सार्रीले थपे ।

युभेन्टस हाल लिगमा १२ खेल सकिँदा ३२ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको इन्टर मिलानभन्दा १ अंकले अघि छ । युभेन्टसले भोलि एट्लान्टासँग अवे मैदानमा खेलेपछि च्याम्पियन्स लिगमा नोभेम्बर २७ मा आफ्नो घरमा हुने एथ्लेटिको मड्रिडविरुद्ध खेल्नेछ । रोनाल्डो सो खेलमा मैदान फर्किनेछन् ।

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १४:३६
Loading...