भावुक हुँदै स्वारेजले भने– ‘मलाई अझै लामो समय बार्सिलोनामै रहन मन छ तर …..’

एजेन्सी, मंसिर ५
गत सिजनबाटै बार्सिलोना क्लबमा उरुग्वेन फरवार्ड लुइस स्वारेजको दीर्घकालीन विकल्प खोजिरहेको छ । हाल ३२ वर्ष पुगेका स्वारेजको बढ्दो उमेरलाई ध्यान दिँदै क्लब उनको स्थानमा युवा खेलाडी भित्र्याउन खोजिरहेको छ, जुन स्वभाविक पनि छ ।

अहिले पनि सरुवा बजारमा बार्सिलोनाले स्वारेजको स्थान लिन सक्ने खेलाडी खोजिरहेको चर्चा छँदैछ । यसअघिक प्तान लिओनल मेस्सीले क्लबसँग तत्कालै स्वारेजलाई टोलीबाट बिदा नगर्न वा उनको विकल्प खोजी नगर्न अनुरोध गरेका खबर पनि नआएका होइनन् । यसको अर्थ मेस्सी स्वारेज अझै लामो समय क्याम्प नोउमै रहून् भन्ने चाहन्छन् । किनभने, स्वारेज मेस्सीका सबैभन्दा मिलनसार मित्र हुन् ।

स्वारेज अहिले बार्सिलोनामा शानदार लयमा छैनन्, उति खराब अवस्थामा पनि छैनन् । उनी मेस्सीसँग मिलेर टोलीका लागि गोल र असिस्ट गरिरहेका छन् । भलै, बार्सिलोनाले पछिल्ला वर्ष ठूला उपाधि जित्न नसके पनि बार्सिलोनाको कूल गोलमा स्वारेजले ठूलो योगदान दिँदै आएका छन् । यो तथ्यांकले प्रष्ट पार्छ ।

तर, अब भने स्वारेजले पनि क्याम्प नोउमा आफ्नो भविष्य अनिश्चित देख्न थालेका रहेछन् । हालै बार्सिलोनाको अफिसियल मिडियासँग कुरा गर्दै उनले आफूले टिममा राम्रो गर्न कोसिस गरिरहे पनि क्लबले आफ्नो स्थानमा नयाँ खेलाडी भित्र्याए आफूलाई कुनै आपत्ति नहुने बताएका छन् । र, उनले क्लबलाई नयाँ निर्णय लिन बाटो झन् सहज बनाइदिएका छन् ।

स्वारेजले कुनै पनि खेलाडीले सधैं युवाझैं खेल्न नसक्ने बताउँदै आवश्यकताअनुसार क्लबले आफ्नो विकल्प खोज्नु स्वभाविक रहेको बताएका छन् । उनले यो पनि बताएका छन् कि, बार्सिलोनाले अहिले उनको स्थानमा नयाँ खेलाडी खोजिरहेको हुन सक्छ ।

‘फुटबलमा यस्तो समय आउँछ । त्यो उमेरमा मैले चाहेर पनि बार्सिलोनामा आवश्यक पर्ने वा चाहिने स्तरको प्रदर्शन दिन सक्दिनँ । तर, जति बेलासम्म मसँग सामाथ्र्य हुन्छ, त्यत्तिबेला नै क्लबले प्रतिस्पर्धा बढाउन सके झनै राम्रो,’ स्वारेजले भनेका छन्, ‘यदि क्लबले नयाँ फरवार्ड भित्र्याउनेबारे सोचिरहेको छ भने मलाई त्यसमा कुनै आपत्ति छैन, यो सामान्य कुरा हो ।’

स्वारेजले क्लब फुटबलमा समयसँगै सबै ठाउँमा युवा खेलाडी आउने र उमेर ढल्केका खेलाडी किनार लाग्ने बताए । ‘फुटबलको चरित्र यही हो । मेरो हकमा पनि यो लागू हुन्छ नि । नयाँ खेलाडी आउँछन्, हामीले आराम लिन्छौं । फुटबललाई प्रतिस्पर्धी बनाउन पनि यस्तो हुनु राम्रो हो,’ उनले थपे ।

इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी स्वारेजले बार्सिलोना आएपछि आफूले करिअरमा थुप्रै कुरा बटुलेको पनि बताए । ‘यो मेरो घरजस्तै हो । यहाँ बिताएका पाँच वर्ष मेरो जीवनका सम्पत्ति हुन् । अझै लामो समय म यहाँ रहन पाऊँ । यो मनको चाहना हो । तर …. ।’

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार ०४:१६
Loading...