यसकारण मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता नगर्न सक्छन् : फकाउँदै क्लब

एजेन्सी, मंसिर ४
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना इतिहासकै सर्वाधिक सफल कहलिएका फुटबलर लिओनल मेस्सीसँग सम्झौता नवीकरण गर्न चाहेको छ । यो कुरा क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नै सार्वजनिक रूपमा भन्दै आएका छन् । उनले केही समयअघि पनि ‘मेस्सी तयार छन् भने क्लब उनीसँग लाइफाटइम सम्झौता गर्न तयार’ रहेको बताएका थिए ।

तर, मेस्सीले क्याम्प नोउमा बसाइ लम्ब्याउने सम्भावना कमजोर बन्दै गएको चर्चा स्पेनिस मिडिया रिपोर्टहरूमा उल्लेख छ । स्पेनका प्रतिष्ठित पत्रिका ‘मार्सा’ र ‘मुन्डो डेपोर्टिभो’ ले बार्सिलोनाले मेस्सीसँग छलफल गर्न चाहेको तर हालसम्म दुई पक्षबीच कुरा हुन सकेको छैन । बार्सिलोना मेस्सीका एजेन्ट उनका बुबासँग बैठक गर्न प्रयास गरिरहेको छ ।

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीमा रहेका मेस्सीले सन् २०१७ को नोभेम्बरमा पछिल्लोपटक सम्झौता नवीकरण गरेका थिए, जुन सिजन २०२०–२१ मा सकिन्छ । त्यसअघि नै बार्सिलोना मेस्सीसँग कम्तीमा दुई सिजन सम्झौता अवधि लम्ब्याउन चाहन्छ । मेस्सी हाल ३२ वर्षका भए । बार्सिलोना मेस्सीलाई ३४–३५ वर्षको उमेरसम्म राख्न चाहन्छ ।

केही समयअघि एक अन्तर्वार्तामा बोल्दै मेस्सीले यदि क्लबले आफूलाई चाहन्छ वा आफ्नो आवश्यकता महसुस गर्छ भने आफू बार्सिलोनामै सिंगो करिअर बिताउन राजी हुने बताएका थिए । तर, त्यसका लागि उनले एक सर्त राखेका थिए– च्याम्पियन्स लिगसहित ठूला उपाधि जित्नुपर्ने ।

मेस्सीले भनेका थिए– ‘यदि क्लब चाहन्छ वा मेरो आवश्यकता ठान्छ भने म सधैंका लागि यहाँ रहन तयार छु । तर, त्यसका लागि टिमले ठूला उपाधि जित्नुपर्छ । च्याम्पियन्स लिग जित्नु आवश्यक छ ।’

के बुझ्न सकिन्छ भने, बार्सिलोनाले यो सिजन वा अर्को सिजन (मेस्सीको सम्झौता सकिनुअघिसम्म) च्याम्पियन्स लिग जित्न नसके मेस्सी क्याम्प नोउमा रहने सम्भावना ज्यादै कम छ । लगातार ठूला उपाधि जित्न नसके बार्सिलोनामा रहनुको औचित्य हुन्न भन्ने कुरा मेस्सीलाई थाहा छ । र, यो कुरा उनी आफैंले प्रष्ट पारेका छन् ।

बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग जितेयता पुनः सो प्रतियोगिता जित्न सकेको छैन । जबकि, सोही अवधिमा बार्सिलोनाको खास प्रतिस्पर्धी रियल मड्रिडले लगातार तीन सिजन सो प्रतियोगिता जितेर रेकर्ड नै बनायो । तर, बार्सिलोना भने ऊ पछिल्ला चार वर्ष लगातार फाइनल नपुगी आउट हुँदै आएको छ ।

रिपोर्टअनुसार मेस्सीले बार्सिलोनासँग सम्झौता गर्ने–नगर्ने कुरा क्लबको सफलताले निर्भर गर्नेछ । यदि यो सिजन पनि बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसके मेस्सीले हालको सम्झौता सकिनुभन्दा एक सिजनअघि नै अप्रत्यासित रूपमा क्लब छाड्न सक्ने चर्चा पहिल्यैबाट छ ।

हाल मेस्सीले बार्सिलोनासँग सम्झौतामा एक यस्तो सर्त छ कि, जसअनुसार मेस्सीले सिजन २०१९–२० पछि आफूले चाहे जुनसुकै बेला क्लब छाडेर जान पाउँछन् । तर, उनी युरोपभन्दा बाहिरका क्लबमा जानुपर्छ ।

यदि बार्सिलोना छाड्नु परे मेस्सी युरोपियन क्लबमा हुनेछैनन् । उनले आफ्नो बाल्यकालको क्लब न्युवेल्स वर्ल्ड ब्वाई जान चाहेका छन् । मेस्सी आफैंले पटक–पटक करिअरमा एकपटक सो क्लबबाट खेल्नु आफ्नो सपना रहेको बताउँदै आएका छन्, जहाँबाट मेस्सीले फुटबल खेल्न सिकेका थिए ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार १२:१९
Loading...