एक दिनको कमजोर खेलले बार्सिलोना कमजोर बन्दैन : मेस्सी

काठमाडौं, कात्तिक २१
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस बार्सिलोनाले दुई दिनअघि आफ्नो घरेलु मैदानमा चेक क्लब स्लाभिया प्रहासँग गोलरहित बराबरी खेल्यो । तुलनात्मक रूपमा कमजोर टिमविरुद्ध बार्सिलोनाले गोलविहीन बराबरी खेलेसँगै उसको अन्तिम १६ को यात्रा केही कठिन बनेको छ ।

तर, बार्सिलोनासँग अझै दुई खेल छन् । जसमा उसले एक खेल जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग आफ्नो घरमा खेल्नेछ भने इटालियन इन्टर मिलानसँग अवे मैदानमा खेल्नेछ । बार्सिलोनाका लागि यी दुवै खेल सहज हुनेछैनन् ।

सो खेलपछि बार्सिलोनाका कताप्न लिओनल मेस्सीले मिडियासँग कुरा गर्दै स्लाभियासँगको खेलको नतिजा निराशाजनक रहे पनि टिममाथि ठूलो संकट नरहेको बताएका छन् । उनले अझै दुई खेल बाँकी रहेकाले बाँकी खेल जितेर बार्सिलोना अर्को चरण जाने बताएका छन् ।

‘यो साँचो हो । हामीले स्लाभियाविरुद्ध स्तरअनुसार दिन सकेनौं । हामीले गोल गरेर खेल जित्नुपर्ने थियो । किनभने, हामी आफ्नो घरमा थियौं । र, उनीहरू बलिया प्रतिस्पर्धी थिएनन्,’ मेस्सीले भने, ‘हामी यो नतिजाबाट खुसी हुन सक्दैनौं । तर, हामी अर्को चरण जानेछौं ।’

मेस्सीले फुटबलमा सधैं जित मात्रै सम्भव नहुने बताए । ‘खेलमा सधैं जित्न सम्भव हुँदैन । हामीले सकेसम्म सबै खेल जित्न प्रयास गर्ने हो,’ मेस्सीले भने, ‘हामी बार्सिलोना हौं । त्यसैले पनि हामीमाथि थप दबाब हुन्छ । एक दिनको कमजोर खेलले बार्सिलोना कमजोर बन्दैन ।’

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार ०३:२६
Loading...