मेरो आलोचना गर्नेहरू अज्ञानी हुन्, उनीहरूलाई फुटबलबारे थाहा छैन : भाल्भर्डे

एजेन्सी, कात्तिक १९
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्नो आलोचना गर्नेहरूलाई पेचिलो जवाफ दिएका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबललमा मंगलबार आफ्नो घरमा स्लाभिया प्रहासँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै उनले आफ्नो आलोचना गर्नेहरू ‘अज्ञानी’ व्यक्ति रहेको बताए ।

पछिल्लो समय भाल्भर्डेको चर्को आलोचना भइरहेको छ । तीन दिनअघि ला लिगामा बार्सिलोना अवे मैदामा लेभान्टेसँग ३–१ ले हारपछि भाल्भर्डेको आलोचना थप बढेको छ । बार्सिलोनाका समर्थकहरू क्लबे पछिल्ला वर्ष च्याम्पियन्स लिग जित्न नसक्नुको मुख्य कारण प्रशिक्षक भाल्भर्डे र उनको कमजोर रणनीतिलाई मान्छन् ।

तर, प्रशिक्षक भाल्भर्डे आफ्नो आलोचना गर्नेहरूलाई ‘टिमको अवस्था नबुझी वस्तुगत प्रतिक्रिय दिने’ भनेका छन् । उनले ‘बार्सिलोनाले जित्दा केही खेलाडीले गर्दा र हार्दा प्रशिक्षकले गर्दा’ भन्ने खालको सोचाइ खराब सोचाइ रहेको बताए ।

‘जब बार्सिलोनाले जित्छ, जस खेलाडीलाई जान्छ । तर, जब बार्सिलोना हार्छ, अपजस प्रशिक्षकलाई जान्छ,’ भाल्भर्डेले पत्रकारको जावफ दिँदै भने, ‘यस्तो आलोचनामा कुनै तुक छैन । खेल जित्दा र हार्दा खेलाडी तथा प्रशिक्षक सबै जिम्मेवार हुन्छन् ।’

भाल्भर्डेले अघि थपे, ‘म टिम हार्दा जिम्मेवार लिन्छु । तर, राम्रा कुरा खेलाडीतिर, नराम्रा कुराजति प्रशिक्षकतिर । फुटबललाई यस्ता आँखाले हेर्नु अज्ञानताबाहेक केही होइन ।’

भाल्भर्डेले आफ्नो चिन्ता सधैं टिमलाई जिताउने र खेलाडीको सुरक्षामा केद्रित रहने बताए । ‘जब कुनै खेल सकिँदा नतिजा गुम्छ भने प्रशिक्षकले त्यसको जिम्मा लिनुपर्छ । म त्यसका लागि तयार छु,’ भाल्भर्डेले भने, ‘फुटबलमा सधैं जित्न मात्रै सकिँदैन । बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएकाले हामीलाई हार्न छुट छैन । मलाई लाग्छ, समर्थकहरूलाई यही मनोविज्ञानले काम गरिरहेको हुन्छ,’ भाल्भर्डेले भने, ‘तर, मेरो ध्यान सधैं टिमको जित र खेलाडीको सुरक्षामै हुन्छ ।’

बार्सिलोनाले आज राति च्याम्पियन्स लिगमा समूह चरणको चौथो खेल स्लाभिया प्रहासँग आफ्नो घरमा खेल्दैछ । सो खेलमा बार्सिलोनाले सहज जितका लागि प्रयास गर्ने भाल्भर्डेले बताएका छन् । ‘भर्खरै ला लिगामा लेभान्टेसँगको नतिजाबाट हाम्रा खेलाडीहरू केही निराश छन् । तर, स्लाभियाविरुद्धको खेलका लागि हामी तयार छौं,’ भाल्भर्डेले भने, ‘हामी यस खेलमा धेरैभन्दा धेरै गोल गरेर जित्न चाहन्छौं ।’

प्रकाशित मिति १९ कार्तिक २०७६, मंगलवार १४:२९
Loading...