युभेन्टस युरोपको एक मात्रै अपराजित टिम !

काठमाडौं, कात्तिक १९
युरोपका टप–५ लिगमा यो सिजन सबैजसो टिम पराजित भइसकेका छन्, शिवाय इटालियन युभेन्टस । युरोपियन पाँच देशका शीर्ष लिगका सबै टिमले कम्तीमा एक खेल हार्दा युभेन्टस भने सबैखाले प्रतियोगितामा १४ खेल सकिँदा कुनै खेल हारेको छैन ।

इंग्ल्यान्डको प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमध्ये सिरी ‘ए’को युभेन्टस एक मात्रै यस्तो टिम हो, जसले यो सिजन सबैखाले प्रतियोगितामा हार व्यहोरेको छैन ।

यो सिजन युभेन्टसले घरेलु लिगमा कूल ११ खेल खेल्दा ९ खेलमा स्पष्ट जित निकालेको छ । च्याम्पियन्स लिगमा उसले तीन खेल खेल्दा दुई खेल जितेको छ । युभेन्टसले यो सिजन सबैखाले प्रतियोगितामा गरी विपक्षीको पोस्टमा कूल २६ गोल गर्दा आफूले १२ गोल खाएको छ ।

प्रिमियर लिगमा लिग लिडर लिभरपुलले घरेलु लिगमा यो सिजन ११ खेल खेल्दा १० खेल जितेर एक खेल बराबरी गरेको छ । लिगमा ऊ अपराजित छ । तर, युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलले ३ खेल खेल्दा दुई खेल जितेर एक खेल हारेको छ ।

स्पेनिस ला लिगामा बार्सिलोनाले ११ खेल सकिँदा ७ खेल जितेर ३ खेल हार्दा १ खेल बराबरी गरेको छ । यता, च्याम्पियन्स लिगमा भने बार्सिलोना अपराजित छ । उसले तीन खेलमा दुई खेल जितेर एक खेल बराबरी गरेको छ ।

यता, बुन्डेस लिगामा भने लिग लिडर मोन्चेङलाबाकले १० खेल सकिँदा ७ खेल जितेर २ खेल हारेको छ भने एक खेल बराबरी गरेको छ । । दोस्रो स्थानको बार्यन म्युनिखले १० खेल सकिँदा मात्रै ५ खेल जितेर ३ खेल बराबरी गर्दा २ खेल हारेको छ । च्याम्पियन्स लिगमा भने बार्यनले खेलेका ३ वटै खेल जितेको छ ।

यता, फ्रेन्च लिग वानमा पिएसजीले १२ खेल सकिँदा ९ खेल जितेर ३ खेल हारेको छ । च्याम्पियन्स लिगमा भने पिएसजीले खेलेका ३ वटै खेल जितेको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७६, मंगलवार ०३:३४
Loading...