इन्टर मिलानले भन्यो– ‘मार्टिनेज बेच्ने कुरा हल्ला मात्रै’

एजेन्सी, कात्तिक १८
इटालियन क्लब इन्टर मिलानले आफ्ना युवा स्टार खेलाडी लौटारो मार्टिनेज बेच्ने सरुवा बजारको चर्चाको खण्डन गरेको छ । अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्ध गर्न चाहेको चर्चा चलिरहेको छ ।

तर, इन्टरका प्रमुख गिउसेप्पे मोराटाले भने आफ्ना खेलाडी बेच्न लागेको कुरा आफूलाई थाहा नभएको र मिडियामा कुरा सबै सत्य नहुने बताए । ‘मिडियामा आएका यी कुरा केवल मिडियामै रहन्छन् । वास्तवमा भन्नुपर्दा यसबारे हामीलाई थाहा छैन,’ मोराटाले भने, ‘हाम्रा खेलाडी हामीसँग खुसी छन् । र, कुनै खेलाडी क्लब छाड्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो ।’

मोराटाले मार्टिनेज यो समयका थोरै मात्रै उत्कृष्ट युवा खेलाडीमध्ये एक रहेकाले टिमलाई उनको आवश्यकता रहेको बताए । ‘उनी युवा छन् । र, टिमलाई प्रशस्तै योगदान दिइरहेका छन् । टिमले उनीबाट थुप्रै कुरा अपेक्षा गरेको छ,’ क्लबका प्रमुखले भने ।

बार्सिलोनाले आगामी समर सिजन मार्टिनेज भित्र्याउन १०० मिलियन युरोभन्दा बढी रकम खर्चिन तयार रहेको चर्चा बजारमा छ । हाल २३ वर्ष पुगेका मार्टिनेज यतिबेला मिलान र अर्जेन्टिनी टोलीमा पनि प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार १५:०५
Loading...