क्याम्प नोउमा मेस्सी चम्किँदा बार्सिलोनाद्वारा भाल्लाडोलिडको धुलाइ !

काठमाडौं, कात्तिक १३
लामो समय चोटबाट गुज्रिएर केही समयअघि मात्रै मैदान फर्किएका सुपरस्टार लिओनल मेस्सीले सनसनीपूर्ण प्रदर्शन गरेपछि बार्सिलोनाले घरेलु लिग ला लिगामा शानदार जित निकालेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको लिगको १०औं खेलमा बार्सिलोनाले पाहुना टोली भाल्लाडोलिडलाई ५–१ ले निराश बनायो ।

क्याम्प नोउमा बार्सिलोनालाई शानदार जिताउन कप्तान मेस्सीको प्रदर्शन शानदार रह्यो । मेस्सीले २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेर आफ्ना नाममा एक शानदार रात बनाए । बार्सिलोनाले खेलको दोस्रो मिनेटमै डिफेन्डर क्लेमेट लेङलेटको गोलबाट अग्रता लिएको थिए । रि–बाउन्ड भएको आएको बलमा लेङलेटले कडा प्रहारमा बललाई सोझै जाली चुमाएका थिए ।

त्यसपछि खेलको १५औं मिनेटमा पाहुना टोली भाल्लाडोलिडका लागि किकोले गोल गरेर खेल १–१ बनाए । तर, त्यसपछि बार्सिलोनाले लगातार गोल हान्यो । खेलको २९औं मिनेटमा अर्टुरो भिडालले मेस्सीको सुन्दर पासमा निकै सुन्दर गोल गरेपछि खेलमा बार्सिलोनाले लिड लियो । त्यसपछि खेलको ३४औं मिनेटमा मेस्सीले फ्रि किकबाट दर्शनीय गोल गरे । उनले २७ मिटर दूरीबाट हानेको फ्रि किक प्रहारले दर्शनीय ढंगले सोझै जाली चुमेपछि बार्सिलोनाले पहिलो हाफमा ३–१ को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि मेस्सीले ७५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल हाने । उनले सब्सिच्युट खेलाडी इभान राकिटिकले चलाखीपूर्वक बक्समा दिएको पासमा दर्शनीय गोल गरेका थिए । लगत्तै २ मिनेटपछि नै बार्सिलोनाका लागि लुइस स्वारेजले मेस्सीकै पासमा गोल गरेपछि खेलमा बार्सिलोना ५–१ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल बार्सिलोनाले ५–१ ले जित्यो ।

यस खेलमा मेस्सीको व्यक्तिगत प्रदर्शन निकै शानदार रह्यो । उनले २ गोल गर्नुका साथै २ गोलमा असिस्ट गर्दै एकै खेलमा ४ गोलका आफूलाई सहभागी बनाए । अब यो जितसँगै बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा पनि फर्किएको छ । उसले १० खेलबाट २२ अंक जोडेर ग्रानाडालाई पछि पार्दै शीर्ष स्थान ओगटेको हो । पराजित भाल्लाडोलिड १४ अंकसहित नवौं स्थानमा यथावत छ ।

हाल अंक तालिकामा ग्रानाडा र एथ्लेटिको मड्रिड समान २०–२० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा रियल सोसिडाड र सेभिल्ला १९–१९ अंकसहित चौथो र पाँचौं स्थानमा छन् । एक खेल कम खेलेको रियल मड्रिड १८ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति १३ कार्तिक २०७६, बुधबार ००:२४
Loading...