‘मेस्सी उत्कृष्ट खेलाडी हुन् तर रोनाल्डो उनीभन्दा धेरै माथि छन्’

एजेन्सी, वैशाख १
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोबीच लामो समयदेखि प्रतिस्पर्धा छ । करिअरमा गोल संख्या र उपाधिका हिसाबले औसतमा उस्तै रेकर्ड भए पनि अन्तर्राष्ट्रिय फुटबलको सबालमा मेस्सीभन्दा रोनाल्डो अघि छन् ।

किनभने, मेस्सीले अर्जेन्टिनाको सिनियर टिमबाट आजसम्म कुनै पनि उपाधि जितेका छैनन् भने रोनाल्डोले आफ्नो कप्तानीमा सन् २०१६ मा पोर्चुगललाई युरो च्याम्पियन बनाए । यसै वर्ष उनले आफ्नै कप्तानी तथा महत्त्वपूर्ण योगदानमा देशलाई युइएफए नेसन्स लिगको उपाधि पनि जिताए । अन्तर्राष्ट्रिय रेकर्ड र गोल संख्यामा पनि रोनाल्डो मेस्सीभन्दा निकै अघि छन् ।

सोही प्रसंगमा बोल्दै रोनाल्डोका राष्ट्रिय टिमका सहकर्मी नानीले यो बताएका छन् कि, रोनाल्डो र मेस्सी उत्कृष्टताका हिसाबले उस्तै भए पनि सफलताका हिसाबले रोनाल्डो धेरै माथि छन् । रोनाल्डोसँग मेस्सीको तुलना हुन नसक्ने बताउँदै नानी मेस्सीसँग रोनाल्डोका जस्ता अनेक सफलता नरहेको बताउँछन् ।

मेस्सीले देश अर्जेन्टिनाका लागि कम्तीमा एक उपाधि नजित्दासम्म रोनाल्डोसँग उनको तुलना नहुने नानीको भनाइ छ । पोर्चुगिज मिडियासँग कुरा गर्दै नानीले भने, ‘रोनाल्डो समकालीन फुटबलमा सबैभन्दा ठूला सफल र खेलाडी हुन् । उनीसँग सबैखाले सफलता छन्, उनले क्लब करिअरमा सबैथोक जितेका छन् । र, पोर्चुगलबाट पनि दुई उपाधि जितेका छन् ।’

नानीले अघि थपे, ‘मलाई लाग्दैन कि, रोनाल्डोसँग मेस्सीको तुलना हुन सक्छ । खेल कौशलका हिसाबले मेस्सी एक उत्कृष्ट खेलाडी हुन्, यसमा दुईमत छैन । तर, चुनौती र सफलताका हिसाबले उनी रोनाल्डोको स्तरमा छैनन् । यो कुरा उनलाई राम्रोसँग थाहा छ ।’

नानीले रोनाल्डोसँग आफ्नो करिअरलाई प्रतिस्पर्धी बनाउन वा उनीसँगको प्रतिस्पर्धालाई सार्थक बनाउन पनि मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि चाहिने बताए । ‘मेस्सीजस्ता उत्कृष्ट खेलाडीले आफूलाई साबित गर्न सबैखाले उपाधि जित्नुपर्छ । मेस्सीले देशका लागि केही न केही जित्नु आवश्यक छ, यो कुरा उनलाई थाहा छ,’ नानीले भने ।

प्रकाशित मिति १ बैशाख २०७७, सोमबार ०४:१६
Loading...