‘बालोन डि‘ओरका लागि मेस्सीभन्दा रोनाल्डो योग्य’

एजेन्सी, कात्तिक १०
वर्ष २०१९ को बालोन डि‘ओर अवार्डका लागि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । त्यसपछि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो दौडमा छन् । यसअघि मेस्सीले भान डाइकलाई पछि पार्दै फिफा बेस्ट अवार्ड जितसिकेका छन् ।

तर, वेल्सको राष्ट्रिय टिमका प्रशिक्षक रायन गिग्सले भने यसपटक बालोन डि‘ओर भान डाइकले जित्ने अन्यथा रोनाल्डो दोस्रो दाबेदार रहने बताएका छन् । विगतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ६ वर्ष रोनाल्डोसँगै खेलेका गिग्सले एक अन्तर्वार्तामा कुरा गर्दै गत सिजन रोनाल्डो र मेस्सी दुवैले राम्रो गरे पनि च्याम्पियन्स लिग जितेका आधारमा भान डाइकले बालोन डि‘ओर जित्ने बताए ।

‘विगत वर्षका अनुभव हेर्दा बालोन डि‘ओर च्याम्पियन्स लिग जित्नेमध्येबाट उत्कृष्ट खेलाडीलाई दिएको देखिन्छ । यसपटक भान डाइक नै यसका प्रमुख दाबेदार हुन्,’ गिग्सले भनेका छन् ।

गिग्सले यदि भान डाइकले सो अवार्ड नजिते रोनाल्डो दोस्रो दाबेदार रहने बताए । ‘यदि भान डाइकले यो अवार्ड जितेनन् भने रोनाल्डोले जित्नुपर्छ । किनभने, गत सिजन र यस वर्ष उनका लागि निकै उपलब्धिमूलक रह्यो,’ गिग्सले भने, ‘गत सिजन मेस्सीले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गर्दै ५१ गोल गरे पनि रोनाल्डोका दुई क्श्लब र एक अन्तर्राष्ट्रिय उपाधि त्योभन्दा बढी हो ।’

गिग्सले समग्र खेल कौशलका हिसाबले मेस्सी रोनाल्डोभन्दा माथि रहेको पनि बताए । ‘यो भन्न निकै कठिन छ । तर, रोनाल्डो मेरा पूर्वसहकर्मी भएकाले म उनलाई पहिलो स्थानमा लिन्छु,’ गिग्सले भने, ‘तर, समग्रतामा हेर्दा मेस्सी माथि छन् । मेस्सी अर्कै स्तरका खेलाडी हुन् ।’

प्रकाशित मिति १० कार्तिक २०७६, आईतवार १०:१५
Loading...