बार्सिलोनामा ९ नम्बरको खोजी : कसले लिँदैछ स्वारेजको स्थान ?

एजेन्सी, असोज २८
स्पेनिस क्लब बार्सिलोनाले टोलीमा ‘९ नम्बर’ खेलाडीको खोजी थालेको रिपोर्ट बाहिरिएको छ । सन् २०१४ देखि ९ नम्बर जर्सीमा रहँदै आएका उरुग्वेन फरवार्ड लुइस स्वारेजको सम्भावित बिदाइलाई ध्यानमा राखेर क्लबले क्याम्प नोउ उत्रिन सक्ने नयाँ खेलाडीको खोजी थालेको स्पेनिस मिडियाले खबर छापेका छन् ।

‘मुन्डो डेपोर्टिभो’का अनुसार बार्सिलोना निकट भविष्यमा स्वारेजको स्थान लिन सक्ने र भित्र्याउन सक्ने ४ जना खेलाडीको सूची बनाएको छ । उसको सूचीमा यो समयका स्टार खेलाडीहरू रहेका छन् । जसमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका इंग्लिस खेलाडी मार्कुस रासफोर्ड, टोटनह्यामका इंग्लिस खेलाडी ह्यारी केन, फ्रेन्च क्लब पिएसजीका केलिएन एमबाप्पे रहेका छन् ।

त्यसैगरी, हाल इटालियन इन्टर मिलानबाट खेलिरहेका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज पनि सम्भावित सूचीमा छन् । आगामी समर सिजन बार्सिलोनाले यी ४ जनामध्ये एक खेलाडी अनुबन्ध गर्न प्रयास गर्ने खबरमा उल्लेख छ ।

हाल ३२ वर्ष पुगेका स्वारेजको बढ्दो उमेरलाई ध्यान दिँदै बार्सिलोनाले अर्को सिजन सम्मानजनक बिदाइ गर्ने योजना बनाएको छ । र, उसले स्वारेजकै स्तरको अर्को खेलाडी अनुबन्ध गर्न चासो बढाएको छ । स्वारेजलाई बार्सिलोनाले सन् २०१४ को विश्वकपपछि अनुबन्ध गरेको थियो ।

यी ४ जनामध्ये बार्सिलोनाका लागि मूल्यका हिसाबले सबैभन्दा सहज मार्टिनेज छन्, जसलाई बार्सिलोनाका कप्तान लिओनल मेस्सीसमेत चाहन्छन् । २२ वर्षीय उनको मार्केट भ्यालु हाल ४० मिलियन युरो मात्रै रहेको छ । बार्सिलोनाको सूचीमा रहेकामध्ये सबैभन्दा महँगा खेलाडी एमबाप्पे छन्, जसको मार्केट भ्यालु २०० मिलियन युरो रहेको छ ।

चार खेलाडीको मार्केट भ्यालु :

केलियन एमबाप्पे – २०० मिलियन युरो

ह्यारकी केन – १५० मिलियन युरो

मार्कुस रासफोर्ड – ८० मिलियन युरो

लौटारो मार्टिनेज – ४० मिलियन युरो

स्रोत – ट्रान्सफर मार्केट

प्रकाशित मिति २८ आश्विन २०७६, मंगलवार १२:५८
Loading...