‘मेस्सीलाई रोनाल्डोको बराबरी हुन पनि अन्तर्राष्ट्रिय उपाधि चाहिन्छ’

एजेन्सी, असोज १९
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओन मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोबीच लामो समयदेखि प्रतिस्पर्धा छ । करिअरमा गोल संख्या र उपाधिका हिसाबले औसतमा उस्तै रेकर्ड भए पनि अन्तर्राष्ट्रिय फुटबलको सबालमा मेस्सीभन्दा रोनाल्डो अघि छन् ।

किनभने, मेस्सीले अर्जेन्टिनाको सिनियर टिमबाट आजसम्म कुनै पनि उपाधि जितेका छैनन् भने रोनाल्डोले आफ्नै कप्तानी र महत्त्वपूर्ण प्रदर्शनमा सन् २०१६ मा पोर्चुगललाई युरो च्याम्पियन बनाए । यसै वर्ष मात्रै युइएफए नेसन्स लिगमा देशलाई च्याम्पियन बनाए ।

सोही प्रसंगमा बोल्दै बार्सिलोनाका पूर्वखेलाडी डेकोले यो बताएका छन्, कि मेस्सीले आफ्नो करिअरलाई सफल पार्न एक अन्तर्राष्ट्रिय उपाधि जित्नैपर्छ । त्यत्ति मात्रै हैन, आफ्नो खास प्रतिस्पर्धी रोनाल्डोसँग बराबरी हुन पनि मेस्सीले देशबाट एक उपाधि जित्नैपर्ने डेको बताउँछन् ।

‘स्पोर्ट’सँग कुरा गर्दै डेकोले यदि मेस्सीले देशबाट उपाधि जित्न नसके उनको विशाल करिअर अधुरै रहने बताए । ‘मेस्सीजस्ता उत्कृष्ट र सफल खेलाडीले करिअरलाई सार्थक बनाउन देशबाट केही न केही उपाधि जित्नुपर्छ, जुन अहिलेसम्म छैन,’ डेकोले भने, ‘म चाहन्छु– उनले चाँडोभन्दा चाँडो देशका लागि उपाधि जितून् ।’

डेकोले रोनाल्डोसँग आफ्नो करिअरलाई प्रतिस्र्धी बनाउन वा उनीसँगको प्रतिस्पर्धालाई सार्थक बनाउन पनि मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि चाहिने बताए । ‘रोनाल्डोले आफ्नै कप्तानीमा देशलाई युरो च्याम्पियन बनाए, अस्ति भर्खर आफ्नै नेतृत्वमा नेसन्स लिग जिताए,’ डेकोले भने, ‘कम्तीमा रोनाल्डोसँग बराबरी हुन पनि मेस्सीले अन्तर्राष्ट्रिय उपाधि जित्नैपर्छ । यो कुरा मेस्सीलाई पनि राम्रोसँग थाहा छ ।’

यदि मेस्सीले एक अन्तर्राष्ट्रिय उपाधि जिते उनको स्थान रोनाल्डोभन्दा माथि हुने बताए । ‘यदि मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताए उनको स्थान रोनाल्डोको भन्दा धेरै माथि हुनेछ,’ डेकोले थपे ।

प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार १२:४२
Loading...