‘मेस्सीको तुलना कसैसँग हुन सक्दैन’

एजेन्सी, असोज १८
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी विश्व फुटबलमा उत्कृष्टमध्येका एक खेलाडी हुन्, यसमा दुईमत छैन । तर, अर्जेन्टिनाकै युवा खेलाडी लौटारो मार्टिनेज भने राष्ट्रिय टिमका आफ्ना सहकर्मी मेस्सीलाई विश्व फुटबलमा ‘अतुलनीय’ र ‘सर्वश्रेष्ठ’ खेलाडी मान्छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले अर्जेन्टिनी टोलीका कप्तानको खुलेर तारिफ गरेका हुन् ।

पछिल्लोपटक च्याम्पियन्स लिगमा बार्सिलोना र मार्टिनेजको टिम इन्टर मिलान क्याम्प नोउमा भिडेका थिए । सो खेलमा मार्टिनेजले बार्सिलोनाविरुद्ध खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए । तर, पछि कमब्याक गर्दै सो खेल बार्सिलोनाले २–१ ले जित्यो । सो खेलमा मार्टिनेजले गरेको गोलको तारिफ धेरैले गरे ।

इटाली फर्किएपछि एक अन्तर्वार्ताक्रमा बोल्दै मार्टिनेजले मेस्सीविरुद्ध खेल्दा सधैं नयाँ अनुभूति हुने मात्रै बताएनन्, उनले बार्सिलोनाजस्तो टिमविरुद्ध गोल गर्न पाउँदा खुसी लागेको समेत बताए । ‘बार्सिलोनाजस्तो टिमविरुद्ध गोल गर्दा सबैलाई खुसी लाग्छ । यस्तो टिमलाई गरेको गोल सधैं विशेष हुन्छ,’ मार्टिनेजले भनेका छन् ।

मार्टिनेजले मेस्सीलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको पनि बताए । ‘मेस्सी यस्ता खेलाडी हुन्, जसको तुलना कसैसँग पनि हुँदैन । उनी सबैभन्दा माथि र विशेष छन्,’ मार्टिनेजले भने, ‘मैले उनीजस्तो जादुयी खेलाडी आजसम्म देखेको छैन ।’

मार्टिनेजले मेस्सविरुद्ध खेल्दा एकदमै कठिन अनुभूत गरेको बताए । ‘मेस्सीविरुद्ध खेल्दा जो कोही असुरक्षित महसुस गर्छन् । मलाई पनि त्यस्तै भएको थियो । किनभने, उनी भएको टिमलाई हराउन ज्यादै कठिन हुन्छ । तर, हामीले बार्सिलोनाविरुद्ध सन्तोषजनक खेल्यौं । हारजित एउटा पक्ष हो,’ मार्टिनेजले थपे ।

प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार ०२:५९
Loading...