आफ्नो चोट र नयाँ सिजनबारे यसो भन्छन् मेस्सी

एजेन्सी, असोज १७
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीका लागि यो सिजनको सुरुआत तथ्यांकका हिसाबले खराब छ । उनले हालसम्म गोलको खाता खोल्न सकेका छैनन् । तर, उनले २ गोलका लागि असिस्ट गरेका छन् । प्रि–सिजनबाटै चोटका कारण पटक–पटक टोलीबाहिर रहँदै आएका उनले हालसम्म जम्मा ४ खेल मात्रै खेलेका छन् । त्यसमा एक खेलमा मात्रै पूरा ९० मिनेट खेलेका छन् भने बाँकी खेलमा बेन्चबाट खेलेका छन् ।

च्याम्पियन्स लिगमा गत राति समूह चरणको दोस्रो खेलमा क्याम्प नोउमा इटालियन इन्टर मिलानविरुद्ध पूरा समय खेलेका मेस्सीले लुइस स्वारेजको विजयी गोलमा असिस्ट गरेका थिए । सो खेलमा मेस्सीले गोल गर्न नसके पनि टोलीलाई कमब्याक जित दिलाउन महत्त्वपूर्ण योगदान दिए । सो खेलपछि मेस्सीले मिडियासँग प्रतिक्रिया गर्दै आफ्नो सिजन भर्खर सुरु भएको बताएका छन् । पछिल्ला दिन मेस्सी चोटका कारण टोलीबाहिर रहँदा टिम समस्यामा परेको र मेस्सी स्वयंको नयाँ सिजन खराब हुने भन्दै चिन्ता व्यक्त भइरहेका थिए ।

तर, मेस्सीले भने आफ्नो नयाँ सिजन भर्खरै सुरु भएको भन्दै ‘युरोप’लाई चेतावनीमूलक अभिव्यक्ति दिएका छन् । अर्थात्, उनले युरोपियन च्याम्पियन्स लिगमा आफ्ना लागि सिजन भर्खरै सुरु भएको भन्दै आफूले गर्न सक्ने थुप्रै कुरा रहेको आशयको अभिव्यक्ति दिए ।

‘म भर्खर नयाँ सिजनको सुरुआत गरिरहेको छु । आज पहिलो दिन हो, जहाँ मैले पूरा ९० मिनेट खेलें । लामो सिजन चलिरहन्छ । र, म यसलाई बिस्तारै छाड्दै जान्छु,’ मेस्सीले भने ।

तर, यो सिजन पनि आफूले गर्न अझै थुप्रै कुरा बाँकी रहेको मेस्सीले बताए । ‘मानिस मेरो विषयमा चिन्ता गरिरहेका छन् । तर, म भर्खरै मैदानमा आएको छु । बाँकी दिनमा ठूला प्रतियोगितामा मैले गर्न सक्ने कुरा धेरै हुनसक्छन् । गर्दै र हेर्दै जाऊँ ।’

प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार ०२:५५
Loading...