स्वारेजले ‘आलोचक’हरूलाई दिए कडा जवाफ

एजेन्सी, असोज १६
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस बार्सिलोनाले समूह चरणको दोस्रो खेलमा इटालियन इन्टर मिलानलाई पछि परेको अवस्था उल्टाएर २–१ ले जित्यो । गत राति आफ्नो घरमा भएको खेलमा बार्सिलोना खेल सुरु भएको दोस्रो मिनेटमै गोल खाएपछि संकटमा धकेलिएको थियो । तर, दोस्रो हाफमा उरुग्वेन फरवार्ड लुइस स्वारेजले दुई सुन्दर गोल गर्दै टिमलाई हारबाट मात्रै जोगाएनन्, रोमाञ्चक जित नै दिलाए ।

सो खेलपछि मिडियासँग कुरा गर्दै स्वारेजले प्रतिक्रिया दिएका छन् । उनले एक–दुई खेलमा सामान्य प्रदर्शन रहँदैमा कुनै पनि खेलाडीको सांगोपांगो मूल्यांकन गर्नु वा आलोचना गर्नु गलत रहेकोतर्फ संकेत गर्दै आफूले सधैं टिमलाई जिताउन गोल गर्न प्रयास गर्ने बताए । उनले टिमलाई कठिन अवस्थामा जिताउन २ गोल गरेकोमा खुसीसमेत व्यक्त गरे । ‘हामीले आज महत्त्वपूर्ण ३ अंक जोड्यौं, यो अर्को चरण जान महत्त्वपूर्ण छ हो,’ स्वारेजले भने, ‘म यो जितबाट खुसी छु । टिमका लागि २ गोल गर्न पाउँदा झन् खुसी छु । सबैको संघर्षले हामीले कठिन अवस्थाबाट खेल जित्यौं ।’

स्वारेजले आलोचकहरूलाई संकेत गर्दै एक वा दुई खेलमा गोल नहुँदैमा खेलाडीको आलोचना हुनु ठीक नभएको बताए । ‘मानिस फरवार्डबाट प्रशस्तै गोलको अपेक्षा राख्छन्, यो सही पनि हो । तर, केही खेल राम्रो नहुँदैमा वा गोल नगर्दैमा आलोचना हुनु ठीक होइन । किनभने, कुनै पनि खेलाडी सधैं एकनासले खेल्न सक्दैन । र, सबै खेल जित्न पनि सकिँदैन,’ स्वारेजले भने ।

स्वारेजले कप्तान लिओनल मेस्सी टिममा फर्किएकोमा खुसी व्यक्त गरे । ‘लियो हामीसँग छन् । आज उनले गोल नगरे पनि गोल गर्न सहयोग गरे । उनले टिमको जितमा महत्त्वपूर्णा योगदान दिए । म उनको पुनरागमनबाट ज्यादै खुसी छु,’ स्वारेजले मेस्सीको तारिफ गरे ।

प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार ०३:५९
Loading...