स्वारेज चम्किँदा इन्टर मिलानमाथि बार्सिलोनाको पुनरागमन जित

काठमाडौं, असोज १६
स्पेनिस बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक पुनरागमन जित निकालेको छ । समूह चरणअन्तर्गत दोस्रो खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग पछि परेको स्थिति उल्टाएर २–१ को जित निकालेको हो । नेपाली समयअनुसार बिहीबार बिहान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई पछि परेको स्थितिमा रोमाञ्चक जित दिलाउन उरुग्वेन फरवार्ड लुइस स्वारेज नायक बने । २ वटै गोल उनैले गरे ।

यो सिजन सबैखाले प्रतियोगितामा अपराजित रहेको मिलान बार्सिलोनालाई उसकै घरमा स्तब्ध बनाउने योजना बुनेर क्याम्प नोउ पुगेको थियो । तर, उल्टै उसको सिजनको अपराजित यात्रा बार्सिलोनाले टुंगाइदियो । खेलमा सुखद् सुरुआत गरेको मिलानले अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो ।

मिलानले बार्सिलोनालाई उसको घरमा खेल सुरु भएको दोस्रो मिनेटमै पछि पारेको थियो । एलेक्स सान्चेजको लामो दूरीको पासमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले उत्कृष्ट गोल गरेपछि बार्सिलोना सुरुमै ०–१ ले पछि पर्न गयो । त्यसपछि बार्सिलोनाले बराबरी गोलका लागि थुप्रै प्रयास गरे पनि उसले गतिलो आक्रमण बुन्न सकेन । बरु, मिलानले बार्सिलोनाको पोस्टमा पटक–पटक धावा बोलेको थियो ।

तर, दोस्रो हाफमा बार्सिलोना शानदार रूपमा खेलमा फर्कियो । खेलको ५८औं मिनेटमा स्वारेजले भली किकमा उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काए । उनले सर्जियो बुस्केट्सको स्थानमा मैदान छिरेका अर्टुरो भिडालले दिएको पासमा वान टचमै दर्शनीय गोल गरेका थिए ।

त्यसपछि खेलको ८४औं मिनेटमा स्वारेजले नै व्यक्तिगत दोस्रो गोल गरे । कप्तान लिओनल मेस्सीले दिएको पासमा बक्सभित्र रहेका स्वारेजले उत्कृष्ट फिनिसिङमा गोल गरेपछि खेलमा बार्सिलोनाले २–१ को लिड लियो । त्यसपछि खेलमा थप गोल नभएपछि खेल बार्सिलोनाले जित्यो ।

प्रकाशित मिति १५ आश्विन २०७६, बुधबार २२:१३
Loading...