‘मेस्सी ठीकठाक नरहने हो भने बार्सिलोनाले केही जित्दैन’

एजेन्सी, असोज १५
स्पेनिस क्लब बार्सिलोना यो सिजन सबै प्रतियोगितामा संघर्ष गरिरहेको छ । घरेलु लिग ला लिगामा कमजोर नतिजामा रहेको बार्सिलोना च्याम्पियन्स लिगमा पहिलो जितको खोजीमै छ । बुधबार राति समूह चरणको दोस्रो खेलमा इटालियन इन्टर मिलानसँगको खेलबाट ऊ यस प्रतियोगितामा सिजनको पहिलो जित दर्ता गर्ने अभियानमा छ ।

गएको सिजन र यो सिजन बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गर्न प्रशस्तै बजेट खर्चियो । तैपनि, बार्सिलोना अझै उत्कृष्ट लयमा छैन । समग्रमा बार्सिलोना यतिबेलासम्म कमजोर अवस्थामै छ । अहिले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेदेखि लिएर कप्तान लिओनल मेस्सीसम्मलाई दबाब बढेको छ । यो सिजनको सुरुबाटै पटक–पटक चोटबाट ग्रस्त बनेका मेस्सी अझै पनि पूर्ण रूपमा फिट भइसकेका छैनन् ।

यसैक्रममा बार्सिलोनाका लिजेन्ड ब्राजिलियन खेलाडी रिभाल्डोले यो बताएका छन् कि, यदि मेस्सी यो सिजन ठीकठाक अवस्थामा नरहने हो भने बार्सिलोना उपाधिविहीन बन्नेछ । उनले मेस्सीको चोट र फिटनेसप्रति चिन्ता गर्दै यस्तो बताएका हुन् । ‘मुन्डो डेर्पोटिभो’सँग कुरा गर्दै रिभाल्डोले बार्सिलोनालाई उपाधि जित्न मेस्सी पूर्ण रूपमा ठीक हुनु आवश्यक रहेको बताए ।

‘मेस्सीका लागि यो सिजन राम्रो हुने संकेत मैले देखेको छैन । उनी दुईपटक घाइते भइसके र केही दिन मात्रै फिट रहे । टिमका लागि यो निकै ठूलो अप्ठेरो हो,’ रिभाल्डोले भनेका छन्, ‘मेस्सी ठीकठाक नहुँदा टिमलाई ठूलो चुनौती हुनसक्छ । यदि उनी चाँडै शतप्रतिशत फिट रहन सकेनन् भने बार्सिलोनाले यो सिजन केही नजित्ने खतरा छ ।’

रिभाल्डोले मेस्सी टोलीका प्रमुख गोलकर्ता खेलाडी र निर्णायक व्यक्ति भएकाले उनलाई ठीकठाक राख्नु क्लबको दायित्व हुने बताए । ‘उनी अहिले ३२ वर्षका छन् । टिमले अब उनीबाट विगत वर्षकै जस्तो प्रदर्शनको अपेक्षा राख्नु हुँदैन । तर, मेस्सी ठीकठाक रहे भने अझै पनि टिमलाई उपाधि जिताउन धेरैथोरै योगदान दिन सक्छन्,’ रिभाल्डोले भने, ‘तर, त्यसका लागि प्रशिक्षक र क्लबले विशेष ध्यान दिनुपर्छ ।’

यो सिजन पटक–पटक घाइते भएका मेस्सी आज राति क्याम्प नोउमा हुने इटालियन इन्टर मिलानसँगको खेलबाट तेस्रापटक मैदान फर्किंदैछन् । उनले मेडिकल टिमबाट पाससमेत पाइसकेका छन् । सम्भवतः आज प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उनलाई दोस्रो हाफमा मात्रै मैदान उतार्नेछन् । यो सजन मेस्सीले ला लिगा र च्याम्पियन्स लिग गरी तीन खेल खेल्दै मात्रै १ गोलमा असिस्ट गर्न सकेका छन् ।

बार्सिलोना र इन्टर मिलानको खेल क्याम्प नोउमा राति १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग भएको पहिलो खेल अवे मैदानमा ०–० मा टुंगिएको थियो ।

प्रकाशित मिति १५ आश्विन २०७६, बुधबार १५:१३
Loading...