मेस्सीबिना बार्सिलोनालाई उपाधि हैन, खेल जित्न कठिन पर्छ’

एजेन्सी, असोज १३
इंग्ल्यान्डका लिजेन्ड खेलाडी ग्यारी लिंकरले स्पेनिस बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सी खेल जित्न र उपाधि जित्न निर्णायक तत्त्व रहेको बताएका छन् । उनले यो बताएका छन् कि, बार्सिलोनालाई मेस्सीबिना उपाधि मात्रै हैन, खेल जित्न पनि कठिन पर्छ । मेस्सीका प्रशंसकसमेत रहेका उनले मेस्सीको तुलना इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग गरेका छन् ।

सोक्रममा लिंकरले रोनाल्डालाई एक अद्भुत खेलाडी भन्दै मेस्सीलाई भने उनीभन्दा माथि राखेका छन् । ‘दुःखसाथ भन्नुपर्दा मेस्सीले हालसम्म मात्रै ला लिगाबाट जितेका छन्, न त अन्य लिग, न त अन्तर्राष्ट्रिय नै,’ लिंकरले भनेका छन्, ‘यो बिन्दुबाट हेर्दा रोनाल्डोको करिअर मेस्सीको भन्दा निकै शानदार छ ।’

तर, समग्र आधारबाट हेर्दा मेस्सी रोनाल्डोभन्दा माथि रहेको लिंकर बताउँछन् । ‘मेस्सी समग्र फुटबलका दृष्टिबाट हेर्दा सबैभन्दा माथि छन् । मेरा लागि पहिला मेस्सी अनि मात्रै रोनाल्डो आउँछन्,’ लिंकरले भने ।

लिंकरले मेस्सी बार्सिलोनाका लागि हार–जित वा उपाधिका लागि सधैं निर्णायक व्यक्ति रहेको बताए । ‘मेस्सी बार्सिलोनाका लागि सधैं निर्णायक तत्त्व हुन् । उनी हुँदा र नहुँदा टिमको नतिजामा फरक पर्छ,’ लिंकरले भनेका छन्, ‘मलाई लाग्छ– बार्सिलोनालाई मेस्सीबिना उपाधि मात्रै नभएर खेल जित्न पनि कठिन हुन्छ ।’

प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १५:५३
Loading...